कुवेत पठाइदिने भन्दै बाबुछोराले गरे जिल्लाभरी लाखौँ ठगी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका १ का मस्तकिम मियाँ उनका छोरा हजरत तथा छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका रहमान मियाँले दर्जनौं युवासँग करोडौं ठगी गरी फरार भएका छन । उनीहरु बिरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले मस्तकिमलाई पक्राउ गरेको छ भने अन्य दुई फरार रहेका छन् । छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका जिनत मन्सुरीले छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन एजेन्टले मागेको १ लाख ३६ हजार रुपैयाँ ऋण लिए । राम्रो कमाइ हुने ठाउँ कुवेतको भिसा आएको र जान ढिलो भइसकेको बताएपछि सबै पैसा एजेन्टलाई बुझाइदिए । गएको साउनमै भिसा आइसकेको भन्दै उडन तयार भएका अन्सारुल न त विदेश जान पाए, नत उक्त रकम नै पाएका छन् ।

सोही ठाउँका २१ बर्षीय रामनारायण मुखियाको हालत पनि अन्सारुलको जस्तै छ । उनले पनि १ लाख ३६ हजार तिरे कुवेत जाने आशमा । तर, अहिले न विदेश जान पाए न रकम नै फिर्ता पाए । एजेन्टलाई रकम दिएर ठगीमा पर्नेमा राजगढ गाउँपालिका ३ का २२ बर्षीय अफजल मन्सुरी पनि छन् । उनले पनि ७६ हजार रुपैयाँ एजेन्टलाई बुझाए विदेश गएर कमाइ गर्ने आशमा । तर उनको आशामाथि पनि तुसारापात भयो । हनुमानननगर कंकालनी नगरपालिका १४ रम्पुरा मल्हनियाँका दिनेश मुखियाले पनि विदेश जाने नाममा १ लाख ३६ हजार गुमाएका छन् ।

सप्तरीको भिन्न–भिन्न ठाउँका यी युवाहरु वैदेशिक रोजगारीमा एकसाथ ठगिएका छन् । र, ठग्ने गिरोह एउटै हुन् । एक बुवा छोरासहित तीन जना मिलेर सप्तरीभरीकै युवाहरुलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेका हुन । जिल्ला प्रहरी कार्यालयमा एकसाथ ३७ जना पीडितले उनीहरुविरुद्ध उजुरी दिएका छन् । सप्तरीको प्रायः हरेक ठाउँका युवाहरुले सामूहिक उजुरी दिएपछि प्रहरी पनि आश्चर्यमा परेको छ । उनीहरुले ८० हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म लिएका छन् । धेरै जनासँग १ लाख ३६ हजार लिएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

उनीहरुले सबैलाई कुवेत पठाइदिने भनेरै रकम लिएका छन् । ‘ठगीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छौं’ सप्तरी प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र विष्टले भने, ‘बाँकीको पनि खोजी भइरहेको छ ।’ प्रहरीले तीनैजना विरुद्ध ठगी मुद्दा लगाउने तयारी गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…