कुटपिट गरेर महिलाको हत्या गरिएको माइती पक्षको दावी

विराटनगर / मोरङको बेलबारी नगरपालिका–६ कसेनीकी २७ वर्षीय मुना भनिने सिर्जना राईको श्रीमान पर्वत राईको कुटाईबाट मृत्यु भएको भन्दै माइती पक्षले निस्पक्ष अनुसन्धानको माग गरेको छ । पेट दुखेर बिरामी भएकी भन्दै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो । उपचारका लागि पर्वतले नै पु¥याएका हुन् । त्यहाँ पु¥याउँदा सिर्जनाको नाक र अनुहारबाट रगत बगिरहेको थियो । आँखा, चिउँडो, भूँडी र शरीरका विभिन्न भागमा चोट रहेको देखेपछि उपचारका संलग्न चिकित्सकले पनि घटना शंकास्पद भन्दै शवको पोष्टमार्टम गरेर मात्रै आफन्तलाई जिम्मा लगाएका थिए । घटना शंकास्पद रहेका कारण चिकित्सकको सल्लाह बमोजिम शवको पोष्टमार्टम गरिएको प्रतिष्ठानस्थित प्रहरीले जनाएको छ ।

शवको शुक्रबार अन्त्येष्टी गरिएको छ । माइती पक्षले भने उपचारका लागि लिएर जाँदा कुनै जानकारी नदिएका कारण घटना रहस्यमय रहेको दावी गरिरहेको छ । सिर्जनाकी दिदी बिर्सना राईले शुक्रबार घटनाको आवश्यक अनुसन्धान र दोषीलाई कारवाही हुनु पर्ने माग गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएकी छन् । उनले सधैं बहिनीमाथि कुटपिट हुने गरेका कारण मृत्यु पनि कुटाईबाटै भएको आरोप लगाइन ।

सिर्जनाका काका राजु राईले पेट दुख्यो भनेर उपचारका लागि लगिए पनि आँखा, चिउँडो, भूँडी र शरीरका विभिन्न भागमा कुटपिट गर्दा लागेको जस्तो गहिरो चोटपटक हुनु र अनुहारबाट रगत बगिरहनुले घटनालाई असामान्य मानिएको बताए । माइती पक्षले श्रीमान पर्वतले विगतदेखि नै कुटपिट गर्ने र अनेक यातना दिने गरेकाले त्यही कारण मृत्यु भएको आरोप लगाएको छ ।
पर्वत र सिर्जनाबीच ६ वर्ष अघि प्रेम विवाह भएको थियो । उनीहरुका ४ वर्षीय छोरा छन् । स्थानीय बासिन्दाका अनुसार पर्वतले सधैं मदिरा सेवन गरेर सिर्जनालाई कुटपिट गर्ने र अनेक यातना दिने गरिरहेका थिए । ‘बुधबार पनि रातभर झगडा भएको र त्यही क्रममा पर्वतले सिर्जनालाई धेरै कुटपिट गरेको कुरा हामीले छिमेकीबाट सुन्यौंं । धेरै कुटेर अवस्था चिन्ताजनक भएपछि एकाविहानै उपचारका लागि लिएर गएछन्,’ सिर्जनाका काका राजुले भने, ‘कुटपिट गर्ने र यातना दिने क्रम दुई÷तीन वर्षदेखि निरन्तर भइरहेको थियो । कुटपिटकै कारण मृत्यु भएको हो ।’

पर्वतले भने आफूले कुटपिट नगरेको र भूँडी दुख्यो भनेपछि उपचारका लागि लिएर गएको बताएका छन् । इलाका प्रहरी कार्यालय बेलबारीले पनि चिकित्सकले घटनालाई शंकाको घेरामा राख्दै शव पोष्टमार्टम गरेर मात्रै पठाएका कारण आवश्यक अनुसन्धान थालिएको जनाएको छ । प्रहरी निरीक्षक रामकुमार राईले शवको पोष्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको सबै यथार्थ पत्ता लाग्ने जानकारी दिए । प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन ।

तपाईको प्रतिक्रिया

Loading…