कनकाईको बाढी जोखिम उन्मुख, चार घर विस्थापित

भद्रपुर / केही दिन यता भइरहेको लगातार वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ । कन्काई नदीमा जलस्तर खतरा आसपास पुगेकाले आज शिवसताक्षी नगरपालिका–१० मा चार घर विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । “कनकाईको बाढीबाट विस्थापित चार परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको र उनिहरुको बसोबासका लागि सोसाइटीले त्रिपाल प्रदान गरिएको छ”, सोसाइटीका आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन हरिशरण खड्काले भने, “कनकाई नदीमा आज पानीको बहाव तीन दशमलव एक मिटर मापन गरिएको छ ।” यसलाई बाढीको जोखिमोन्मुख अवस्था मानिन्छ । पानीको बहाव तीन दशमलव आठ मिटर पुगेपछि कनकाई नदी बग्ने तराई क्षेत्रका सबै नगरपालिका र गाउँपालिकाका वरपरका बासिन्दालाई मोबाइलको म्यासेज र साइरनमार्फत सतर्क गराउने व्यवस्था छ ।

इलाम र पाँचथर जिल्लामा धेरै वर्षा हुँदा झापामा बाढीको त्रास हुन्छ । इलामको कन्याममा आज ५६ मिलीमिटर, सोक्तिममा ५१ मिलीलिटर, चन्द्रगढीमा ५९ दशमलव छ मिलीमिटर र दोमुखामा ७६ दशमलव ६ मिलीमिटर वर्षा भएको नेपाल रेडक्रस सोसाइटी आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
झापा र इलाममा विगत २४ घण्टादेखि लगातार वर्षा भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लाको १५ वटै स्थानीय तहमा रहेको आफ्ना उपशाखाहरुलाई नदी तटीय क्षेत्रका समुदायलाई सतर्क गराउनु भन्दै आज ‘एलर्ट म्यासेज’ सम्प्रेषण गरेको छ ।

इलामतिर वर्षा हुँदा नदीहरुमा बाढी आउने उच्च सम्भावना भएको बताउँदै खड्काले नदी तटीय क्षेत्रमा बसोबास र खेतीमा काम गर्नेहरुलाई सतर्क रहन र खोला नतर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…