उदयपुरमा वन जोगाउन ग्यास वितरण

उदयपुर / दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका ७ का होक्से सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको हो ।

सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख ९६ हजार रुपैयाँ बराबरको ८० घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण गरेको समूहले जनाएको छ । समूहले आर्थिक वर्ष २०७५÷७६ को आम्दानीबाट समूहभित्र रहेका ८० घरधुरी परिवारलाई ग्यास सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष डिक बहादुर आलेमगरले बताए । उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहमा ८० घरधुरी रहेकोले सतप्रतिशतलाई ग्यास वितरण गरिएको बताए । अध्यक्ष आलेमगरका अनुसार घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुँदै आएको भन्दै समूहले कार्ययोजना बनाएर वन विनाश रोक्न लागेको हो ।

बैकल्पिक उर्जा कार्यक्रमअन्तर्गत एलपी ग्यास सिलिण्डर वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ त्रियुगा नगर कमिटी अध्यक्ष नरबहादुर खड्काले बताए । उनले होक्से सामुदायिक वन उपभोक्ता समूहका कार्यसमिति वन जोगाउन ग्यास चुलो वितरण गरेकोले धन्यवादको पात्र भएकोको बताए । उनका अनुसार उपभोक्तालाई धुवाँमुक्त बनाउने योजना पनि यसमा समेटिएको छ । सरकारले अघि सारेको ‘धुँवामुक्त त्रियुगा नगर अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर बितरण गरिएको प्रति सामुदायिक वन उपभोक्ता महासंघ नगर कमिटी थियो ।

देउरी सव डिभिजन कार्यालयका रेन्जर बाबुराम फुयालका अनुसार एक घरधुरी उपभोक्ताले सरदर वार्षिक ३० देखि ३५ भारी दाउरा खपत गर्ने गरेको तथ्यांकले देखाउँछ । होक्से सावउसले गरेको काम एकदमै सरहानीय भएको बताए । ‘यसरी उपभोक्ताले खपत गर्ने दाउरा भनेको वन सम्पदा मासेरै हो’ रेन्जर फुयालले भने ‘यस्तै तरिकाले वन मासेर दाउरा उत्पादन गर्दै जाने हो भने त केही वर्षभित्रै वन सकिने निश्चित भयो, त्यसैले बिकल्पमा सावउसले ग्यास सिलिण्डर बितरण गरेको प्रति धन्यवाद लायक रहेको छ ।’

खाना पकाउने प्रयोग हुने दाउरा उत्पादन त्यही सामुदायिक वनक्षेत्रबाटै हुने भएकाले यसबाट वर्षेनी वन विनाश बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन ग्यास सिलिण्डर बितरण गरिएको अध्यक्ष आलेमगरको भनाई छ । समूहले सिलिण्डर बितरणसँगै उपभोक्तालाई सामुदायिक वनको परिचयपत्र समेत वितरण गरेको थियो । ग्यास वितरण कार्यक्रमको प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ त्रियुगा नगर कमिटि अध्यक्ष नगरबहादुर खड्का रहेका थिए भने विशेष अतिथिमा देउरी सव डिभिजन वन कार्यालयका रेन्जर बाबुराम फुयाल रहेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…