उददपुरमा जंगली हात्तीले ७ घर भत्काए

उदयपुर / उदयपुरमा अहिले जंगली हात्तीको विगविगी बढेको छ । केही दिनदेखि उदयपुरको त्रियुगाा नगरपालिका र चौदण्डीगढी नगरपालिका गरी हप्ता दिनमा सात घर जंगली हात्तीको समूहले भत्काएका छन् ।

बुधबार राति ४ वटा जंगली हात्तीको समूहले त्रियुगा नगरपालिका ३ स्थित ठाडीमा भवानी प्रसाद चौधरी, राजन चौधरी र रामेश्वर चौधरीको घर भत्काई दिएका छन् । भवानी चौधरीको घर भत्काउनुको साथै धान, चामल खाएर नष्ट गरिदिएको छ । राजन चौधरीको घर र रामेश्वर चौधरीको घर भत्काई दिएको त्रियुगा नगरपालिका ३ का वडा अध्यक्ष अवधेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार जंगली हात्तीको त्रासले भुल्के, ठाडी, चाँप, मोतिगडा, क्याम्पस डाँडाका वासिन्दा रातभरी जागरम बसेर हात्ती धपाएको बताए ।

यस्तै गत शुक्रबार राति त्रियुगा नगरपालिका २ खैजनपुरमा जंगली हात्तीले दिपक सार्कीको फुसको छानो भएको घर भत्काउनुको साथै घरमा भएको अन्नपात खाई दिएका थिए । यस्तै आइतबार राति चौदण्डीगढी नगरपालिका– १० हडियामा जंगली हात्तीको समूहले गाउँ पसेर किसानको अन्नबाली नष्ट गर्नुको साथै स्थानीय टिकाराम दाहाल र बिक्रम दाहालको घरको भुईतला भत्काई दिएको थियो । हात्तीले घर भित्र रहेको चामल एक क्विन्टल, मकै ३० किलो र ५० किलो चोकर नष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया