आँखा बैंक सञ्चालन गर्न रु डेढ करोड दान

चितवन / नेपाल नेत्रज्योति सङ्घ चितवनले यहाँ सञ्चालन गरेको भरतपुर आंँखा अस्पतालमा आंँखा बैंक सञ्चालन तथा नानी सङ्कलन केन्द्रका लागि एकै व्यक्तिले रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ ।

भरतपुर महानगरपालिका–१२ निवासी भीमराज पाठकले नानी प्रत्यारोपण तथा सङ्कलन सेवा केन्द्रका लागि सहयोगस्वरुप उक्त रकम प्रदान गर्नुभएको हो । उहांँले दिएको सहायता रकमलाई अक्षयकोष स्थापना गरी केन्द्रको सञ्चालनको लागि खर्च गरिने अस्पतालका अध्यक्ष कृष्णराज धरेलले बताउनुभयो ।

पाठकको अग्रसरतामा आंँखा बैंक एवं नानी सङ्कलन केन्द्र निर्माण गर्न लागिएकाले केन्द्रको नाम ‘भीमराज उषामाया पाठक’ आंँखा बंैक नानी सङ्कलन केन्द्र राखिएको छ । उषामाया पाठककी श्रीमती हुनुहुन्छ ।

उहाँले पूर्वी चितवनको खुरखुरेमा रहेको एक बिघा जमीन बिक्री गरी दान गरेको बताउनुभयो । आफू पनि आँखाको समस्यामा रहेको भन्दै उहाँले देख्न नपाउनेका लागि यो सुन्दर संसार देखाउन आफूले सहयोग गरेको बताउनुभयो । जीवनमा मरेर जाँदै गर्दा आफूले केही नलाने भए पनि आफूले दिएको दानका कारण धेरैले संसार देख्न पाउने भएकाले यस्तो पुण्यकाममा सहभागी भएको उहाँले बताउनुभयो ।

आँखा अस्पतालमा अन्य दाताले आफ्ना मातापिताको नाममा दान गरेको भए पनि आफूले जीवित रहँदै श्रीमान् श्रीमतीको नाममा यस महान कार्यमा सहभागी भएको बताउनुभयो । क्षयरोग निवारण संस्थाका पूर्व अध्यक्षसमेत रहनुभएका पाठकले विद्यालय, सरकारी अस्पताल, गणेशधाम लगायतका सङ्घ संस्थामा पनि सहयोग गर्दै आउनुभएको छ ।

आँखा बंैक र केन्द्रका लागि चाहिने पूर्वाधार, उपकरण र भण्डारण कक्षका लागि रु १० करोड खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष धरेलले जानकारी दिनुभयो । यसका लागि अन्य दाताबाट रकम सङ्कलनका लागि पहल भइरहेको छ । हाल अस्पतालले मरणोपरान्त आंँखा दान गर्ने व्यक्तिको विवरण राख्नुका साथै आंँखा प्रत्यारोपण गर्दै आएको छ ।

नानीको प्रशोधन र भण्डारण कक्षको अभावमा हाल काठमाडौँको तिलगङ्गामा आंँखाको नानी प्रशोधन एवं भण्डारण गर्ने गरिएको छ । हालसम्म मरणोपरान्त २६५ जनाले आँखा दान गरेका छन् । अस्पतालले यस क्षेत्रका चार जनाको आठवटा आँखा सङ्कलन गरी तिलगङ्गा पठाएको धरेलले बताउनुभयो । तिलगङ्गाबाट ५५ वटा आँखा ल्याएर प्रत्यारोपण गरिएको अस्पतालका मेडिकल डाइरेक्टर प्रा डा रघुनन्दन वेञ्जुले बताउनुभयो ।

उहाँले मृत्युपछि ६ घण्टाभित्र आँखा झिक्नुपर्ने भन्दै जतिसक्दो छिटो प्रयोग गर्दा आँखाको ज्योति राम्रो देखिने बताउनुभयो । सामान्यतया एक साताभित्र आँखा प्रत्यारोपण गर्नुपर्ने उहाँको भनाइ छ । भरतपुरमा मुख्य अस्पतालसँगै यसले नवलपुरको कावासोती, पर्साको ठोरी, धादिङको सल्यानटार, बाराको सिम्रौनगढ, चितवनको माडी, रत्ननगर, पर्सा, चनौली र सौराहामा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

हरेक वर्ष एक लाख ५० हजार बढी बिरामीले अस्पतालबाट सेवा लिँदै आएका छन् । अस्पतालले भरतपुर हाइटमा बहिरङ्ग सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले ४१औँ नेत्रज्योति सङ्घ र ३१औँ अस्पतालकोे स्थापना दिवसका अवसरमा बुधबारबाट सप्ताहव्यापी कार्यक्रम गर्दैछ ।
रासस

तपाईको प्रतिक्रिया