अनेरास्वबियूले भर्ना र पोशाक शुल्क बेहोर्दै विद्यार्थी भर्ना

ताप्लेजुङ / अनेरास्वबियू फुङलिङ नगर संगठन कमिटि ताप्लेजुङले विद्यालय जानबाट बञ्चित ६ जना बाडी पहिरो प्रभावित तथा असहाय बालबालिकालाई विद्यालयमा भर्ना गराएको छ । पुर्व घोषित विद्यालय भर्ना अभियान कार्यक्रम अनुसार उनिहरुलाई दश वर्ष सम्म भर्ना शुल्क र पोशाक शुल्क प्रदान गर्ने गरि सदरमुकाम फुङलिङ स्थित भानुजन माविमा आइतबार भर्ना गराईएको हो । भर्ना हुनेमा ४ जना बाडी पहिरो प्रभावित र २ जना दलित समुदायका बालबालिका छन् ।

गत २०७२ सालको बाडी पहिरोका कारण मेरिङदेन गाउँपालिकाको खाम्लुङबाट विस्थापित भई हाल सदरमुकाममा डेरा गरि बस्दै आएका ज्ञानु लिम्बुलाई कक्षा १ मा, चन्द्र लिम्बुलाई कक्षा एलकेजीमा, रविन्द्र लिम्बुलाई कक्षा १ र मचिन्द्र लिम्बुलाई कक्षा ६ मा भर्ना गराईएको छ । उनिहरु सवै पहिरोका कारण विस्थापित भई सदरमुकाममा बस्दै आएको अनेरास्वबियूले जनाएको छ । यस्तै निम्न स्तरका दलित समुदायका दुई बालबालिका राहुल दर्जी र रोहीत दर्जीलाई एलकेजी र नर्सरीमा भर्ना गराईएको अनेरास्वबियूका जिल्ला सदस्य नारद गुरागाईले जानकारी दिनुभयो ।

भर्ना भएकाहरुको दश वर्ष सम्म लाग्ने भर्ना शुल्क र पोशाक शुल्क अनेरास्वबियूले नै बेहोर्ने अनेरास्वबियूका जिल्ला उपाध्यक्ष राजु नेपालीले बताउनुभयो । यस्तै एलकेजी र नर्सरीमा भर्ना भएका अङ्ग्रेजी माध्यमका विद्यार्थीका लागि पुस्तक समेत खरिद गरिदिने बताईएको छ । पार्टीको केन्द्रिय कमिटिले यस अघि दिएको धारणा अनुसार भर्ना अभियान चलाईएको बताईएको छ ।

बैसाख १ देखि जेठ अन्तिम सम्म नै भर्ना अभियान सञ्चालन गर्ने पुर्व निर्धारित कार्यक्रम अनुसार भर्ना गर्ने क्रम जारी रहेको संगठनले जनाएको छ । यस अघि खाम्लुङ स्थित सिम्ले आधारभुत विद्यालयमा स्थानीय ४ बालबालिकालाई भर्ना गराईएको थियो । यस पछि विद्यालय बाहिर रहेका फक्ताङलुङ गाउँपालिकाका बालबालिकालाई पहिचान गरि भर्ना गराउने तयारी भईरहेको बताईएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…