सुरज थापा नेपाल आईडलबाट बाहिरिदा भयाे रूवाबासी

चर्चित रियालीटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् । टप ६ का प्रतियोगीबीचको प्रतिस्पर्धाबाट उद्घोषकले सुरज बाहिरिएको घोषणा गर्नासाथ जजहरु इन्दिरा जोशी र कालिप्रसाद बास्कोटाका साथै अन्य प्रतियोगी तथा उपस्थितहरु निकै भावुक बनेका थिए । इन्दिरा जोशीको सुरज बाहिरिएसँगै उनीमाथि टिप्पणी गर्ने क्रममा गला नै अबरुद्ध बनेको थियो ।

सुरजले भने आमाबाबुको सपनालाई लत्याएर आफू यो क्षेत्रमा आएको भएपनि अहिले खुसी बनाउन सकेकोमा सन्तोष व्यक्त गरे । उनले भने, ‘आमाबाबुको सपनालाई लत्याएर म यो क्षेत्रमा लाग्दा उहाँहरु दुःखी हुनुभएको थियो । तर नेपाल आइडलको ४ महिनाको बीचमा उहाँहरु निकै खुसी हुनुभएको छ ।’ उनले आफू अन्तिम ६ को प्रतिस्पर्धाबाट बाहिरिन पुगेपनि जितेर गएको जस्तो अनुभूति भएको पनि प्रतिक्रिया दिए ।

आजको प्रतिस्पर्धामा उनीसँगै बटम थ्रीमासुजाता पाण्डे र निशान भट्टराई परेका थिए । उनले भन्दा बढी भोट ल्याएको आधारमा निशान र सुजाता भने अन्तिम ५ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् । अब अन्तिम ५ मा निशान र सुजातासँगै, बुद्ध लामा, सागर आले र प्रताप दासबीच प्रतिस्पर्धा हुने छ ।

राजधानीबाट अडिसन दिएका नेपालगन्जका सुरज थापा नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका हुन् । नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन । यो उपलब्धिबाट उनी पनि निकै खुसी र उत्साहित छन् । सुरज रेडियो नेपालमा पुराना कलाकारका गीत सुनेर गीतसंगीतप्रति आकर्षित भएका हुन् । ३० वर्षीय उनले आईए गरेका छन् ।

टप ६ बाट बाहिरिएका सुरज आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्। उनलाई पुराना पुस्तामा नारायणगोपाल, भक्तराज आचार्य एवं नयाँ पुस्तामा स्वरूपराज आचार्यको स्वर मन पर्छ। आफ्नो स्वरको स्तर, मेहनत र आत्मविश्वासका कारण नेपाल आइडलको यात्रा यहाँसम्म पुगेको उनको भनाइ छ। नेपाल आइडल उपाधिका लागि प्रतियोगीहरू जति नजिक आउँदैछन् उनीहरूको चर्चा र लोकप्रियता उत्तिकै बढ्दै छ । यो गायन रियालिटी सो हजारौं युवाको सपना बनेको छ ।

तपाईको प्रतिक्रिया

Loading…