सारङगी र लोकबाजा लोप भएकोमा गन्धर्व युवाहरुको दुखेसो

धरान । फागुनको दोस्रो साता,केहीदिनदेखिको बर्षाका कारण हिमाली क्षेत्रहरुमा हिमपात र असिना पर्दा चिसो सिरेटोले मधेश अशान्त थियो । शुक्रबार धरानदेखि अलिकति माथिल्लो डाँडामा पुग्दा केही पारिलो घाम देखियो । गनतब्य भेडेटार भएपनि केहीक्षण पारिलो घाम ताप्न डिलैमा रहेको सारङगा रेष्टुरेन्टको छतमा पुग्दा दुई तन्नेरी युवा सारङगी भिरेर हामीतिरै उक्लिए । पल्लो क्याबिनमा रहेको एउटा समुहको अगाडी बेजोडले सारङगी रेटदै उनीहरु गित गाऊन थालिहाले ।

उनीहरुको सुमधुर आवाज र सारङगीको धुनले नजिकै रहेका पुर्बेली मिडिया नेटवर्ककका अध्यक्ष सुरेशचन्द्र दाहालको मनमा हुटहुटी चलायो, उनले आफुसँग भएको हतियार डिएसएलआर तुरुन्त तयारी गरे । छेउमै रहेका नेपाल पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष गोबिन्द बस्नेत भन्दै थिए, अरे यो त भ्वाईस अफ नेपालका प्रतिष्पर्धी तेजेन्द्र गन्धर्व होईन ? अनुहार त ठयाक्कै मिल्छ त । यति नभन्दै उनीहरु हामीतिर सोझिए ।

उनीहरुलाई हामीले केही कुराकानी गर्ने अनुमति माग्यौँ । शुरुमा पैसा नपाईएला कि भनेर उनीहरुले आनाकानी गरे,तर उनीहरु कुरा पनि गर्न पाउने र पैसा पनि पाउने बुझेपछि ढुक्क भए । शुरुमा उनीहरुको परिचय मागियो,उनी साँच्चै तेजेन्द्रका कान्छो भाई रहेछन । बि.स २०५२ सालमा भोजपुरको जरायोटारमा जन्मिएका हिमाल गन्धर्व सानैदेखि गित गाँउदा रहेछन । सोही क्रममा उनी केही बर्ष बिदेश पनि गएका रहेछन । मलेसियामा ३ बर्ष बसेर आएका उनका बुबा कर्णबहादुर चाँहि सारङगी बनाउने र बजाउने गर्दारहेछन । यतिबेला उनी बिरामी आमाको उपचारका लागी धरान झरेका रहेछन । उनी बिरामी आमालाई अस्पतालमा छोडेर केही खर्च जोहो गर्न र समय कटाउन सारंगी बोकेर हिँडेका रहेछन ।

आमाको उपचार खर्च जुटाउन नै गाहे भएको हो भन्ने प्रश्नमा उनले उपचार खर्च जोहो भएको तर खाली समय कटाउन र किन त्यतिकै बस्नु भनेर यसरी हिँडेको बताए । उनी सँगै भेटिएका सुनिल गन्धर्व चाँहि भर्खर ३ महिना मात्र भएको रहेछ यसरी सारंगी सिक्न थालेको तर उनी पनि प्रफेक्ट नै भईसकेका रहेछन । कुराकानीका क्रममा उनीहरु सारंगी,पञ्चेबाजा लोप हुँदै गएकोमा चिन्ता समेत ब्यत्त गरे । सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो । प्रबिधिको प्रयोग सँगै पुराना लोकबाजाहरु दुर्लभ भएको भन्दै उनले संरक्षका लागी भएपनि आफु यसरी सारंगी बोकेर हिँडन थालेको बताए ।

कुराकानीका क्रममा उनले ३ वटा गीत सुनाए । उनकै दाई तेजेन्द्रको एउटा रेकर्ड भएको गीत समेत सुनाए । तेजेन्द्रले पाएको सफलताले तपाईलाई कत्तिको खुसी लागेको छ भन्ने प्रश्नमा उनले आफु दाईको नाम भन्दा पनि आफ्नै नामले चिनिने बताए । उनी भ्वाईस अफ नेपालमा सहभागी हुन आयोजकको प्रस्ताव आईरहेको र आफु पनि जाने तयारीमा रहेको सुनाए ।
कहिले घाम लाग्ने,कहिले बादल देखिने र कहिले चिसो सिरेटो चल्ने मौसमले हामीलाई कुराकानीका क्रममा जिस्काईरहेको थियो । केही क्षणमा वरिपरी मानिसहरुको बाक्लो भिड बढ्न थाल्यो । हामीले कुराकानी छोटयायौँ र त्याहाँबाट बिदा भयौँ ।

तपाईको प्रतिक्रिया