संगीतमा संघर्षरत पदम

काठमाडौं / सांगीतिक क्षेत्रमा भविष्य बनाउने सपना बोकेर पूर्वबाट काठमाडौं छिरेका गायक पदम राई यहि क्षेत्रमा स्थापित हुन संघर्षरत छन् ।
ताप्लेजुङ, नाङ्खोल्याङमा जन्मे हुर्केका उनले गाउँमा घाँस दाउरा गर्दै गीत गाउन थाले । गाउँकै कालिका माविमा पढ्दा पहिलोपटक दर्शकसामु गीत सुनाएका उनले त्यसपछिका दिनमा धेरै मेहनत गरे । जिल्लामा हुने विभिन्न गायन प्रतिष्पर्धामा प्रथम, दोस्रो हुँदै सांगीतिक यात्रा अघि बढाएका पदम २०६९ सालमा ताप्लेजुङ आईडल जीतेपछि भने चर्चामा आए । त्यसपछि भने निरन्तर एल्बम, भिडियो, कन्सर्ट र फिल्मी गीतमा सक्रिय छन् ।

केही वर्षअघि ‘यो जन्म’ र ‘यो जन्म २’ एल्बम बजारमा ल्याएका पदमका ‘यो जन्म त यस्तै भयो’, ‘लुकिलुकि हेर्छु तिमीलाई’, ‘राम्रीमा राम्री तरुनी’ लगायतका गीतले उनलाई पूर्वमा गायकका रुपमा चिनाए । दोस्रो एल्बमका लागी रेकर्ड गराएका गीतहरु ‘फूल टिपे ’ ‘खोई तिम्रो नजरको हो कि’, ‘जान्छौ भने’ गीतका भिडियोले पनि थप परिचित बनाए ।

कुनैबेला पदम लाहुरे बन्ने धुनमा पढाई छाडेर खुब दौडिए । दुई वर्षसम्म छाती नपाए । तर सफल हुन सकेनन् । यता पढाईपनि बिग्रियो । लाहुरे हुने सपना पुरा नभएपनि सानैदेखिको गायक बन्ने सपना बाँकी नै थियो । तर लाहुरे बन्न नसकेपछि आफन्तकोपनि गतिलो सहयोग पाएनन् । सांगीतिक क्षेत्रमा पनि पैसै चाहिन्थ्यो । त्यसपछि पदम सांगीतिक क्षेत्रमा लाग्नकै लागि केही वर्ष विदेश गए । विदेशमा दुख गरेर कमाएको पैसाले गीत रेकर्ड गराए, एल्बम निकाले । उनि भन्छन् ‘अहिले त गीत मात्र रेकर्ड गराएन हुँदैन । भिडियो बनाउनै पर्छ । त्यसकालागि कम्तिमा तीन÷चार लाख खर्च हुन्छ ।’

पदमले एल्बम बाहेक चलचित्र ‘राम जाने’मा मेलिना राईसँग ‘मनभरि तिम्रो वरिपरि..’बोलको गीत गाए । चलचित्र ‘कुईनेटो’का लागिपनि गीत गाए । अहिले चलचित्र नालापानीको गीत रेकर्डिङको तयारीमा छन् । पदमको सांगीतिक व्यस्तता बढ्दो छ । कुनै बेला लाहुरे बन्ने धुनमा धेरै दौडिएका पदम अहिले सांगीतिक दौडमै सन्तुष्ट छन् । कुनै दिन राष्ट्रियस्तरमा छाउने सपना देखेका पदम भन्छन् ‘आर्थिक रुपमा ठूलो प्राप्ति नभएपनि आफुले सानैदेखि मन पराएको क्षेत्रमा केही गरिंदैछ । चित्त बुझाउने ठाउँ बनेको छ । जीवनमा सन्तुष्टि नै सबैभन्दा महत्वपूर्ण रहेछ ।’
सांगीतिक क्षेत्रमा पदमको लगनशीलता र संघर्ष बुझेका साथीभाईको सहयोगमा अहिले उनको गीतको कभरसङ प्रतियोगीता सञ्चालन गरिरहेका छन् । काठमाडौंको रुबुसा म्युजिकको आयोजनामा अहिले सञ्चालन भईरहेको ‘साङ्गीतिक भेटघाट चौतारी सामाजिक सञ्जाल आइडल–२०७४’ मा मलेसिया, दुबई, कुवेत, कतार, ओमन र अमेरिका रहेका संगीतप्रेमीहरुको ‘साङ्गीतिक भेटघाट चौतारी’ समूहले सहयोग गरेको छ ।

गायक पदम राईको गीत ‘फुल टिपे काँडा बनको’ को कभर भर्सन गाएर भिडियो सहित पठाउनु पर्ने प्रतियोगीतामा विभिन्न देशबाट १ सय ५० भन्दा बढी प्रतिष्पर्धी सहभागी भए । प्रतिष्पर्धाका निर्णायकहरु गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राईले उत्कृष्ट ३० जना छनोट गरे । अहिले तिनै ३० जनाले पुनः पदमको अर्को गीत ‘तिमिलाई देखेपछी’ गाएर पठाईरहेका छन् ।


उनिहरु मध्येबाट उत्कृष्टलाई असोज पहिलो हप्ता विजेता घोषणा गरिने कार्यक्रम रहेको छ । प्रतिष्पर्धामा प्रथम हुनेलाई नगद ५० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार उपलब्ध गराइने आयोजकले जनाएको छ । आफ्नो सम्मानमा यस्तो प्रतियोगीता आयोजना हुँदा पदम खुसी छन् । भन्छन् ‘संगीतक्षेत्रमा लागेर धन कमाउन नसकेपनि मान्छेहरुको मन र माया कमाएको रहेछु भन्ने लाग्छ । यस्तै मायाले त यो क्षेत्रमा टिकाईरहेको छ ।’

तपाईको प्रतिक्रिया