‘भारी बोक्दै संगीत सिकें’ – विनोद खम्बु

गायक तथा संगीतकार विनोद खम्बु विभिन्न ठाउँका कन्सर्टमा गाउन र फिल्म तथा एल्बमका गीतमा संगीत भर्न व्यस्त छन् । नेपालका विभिन्न ठाउँ र विदेशमा समेत आफ्नो गायन कला देखाईसकेका खम्बुले नेपाली संगीत क्षेत्रमा स्थापित हुन कम्ति दुख गरेका छैनन् । राजोशपायल राई, मेलिना राई लगायतका धेरै गायक गायिकाको स्वरमा संगीत भरिसकेका उनका आफ्नै गीतहरुपनि चर्चित छन् । संगीत क्षेत्रमा स्थापित हुँदै गरेका खम्बुको संघर्षको कथा उनकै शब्दमा ।

गाउँमा सानैदेखि दशैंतिहारका बेला गाउँथें । सवैले ‘स्वर राम्रो छ’ भनेर हौस्याएपछि २०५३ सालमा गायक बन्ने सपना देखेर काठमाडौं आएँ । २०५४मा रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरें । स्वर परीक्षा त पास गरियो तर न्युन आर्थिक अवस्था भएकाले जीवन चलाउने मेलो चाहियो । काठमाडौंको बसाई, घरबाट पैसा मगाउने अवस्था थिएन । पसलमा काम गर्थें, घट्टेकुलो चोकमा । त्यहाँबाट मासिक १२ सय पाउँथें । काम चाहिं चामल,चिनीको बोरा बोकेर ल्याउनु पर्ने कालिमाटीदेखि । बोरा लोड अनलोड गर्ने, गोदाममा राख्ने सबै आफैंले गर्थें । ग्राहक आए भने नाम्लोमा बोकेर घरसम्म लगिदिन्थें । जे भेट्यो त्यहि काम नगरेर के गर्नु, भन्ने वित्तिकै पैसा हुँदैनथ्यो ।

फुर्सद मिलाएर संगीतपनि सिक्न थालें । तिर्ने पैसा नभएकाले संगीत सिक्न आईडिया लगाएँ । सुरुमा संगीत सिक्न संगीत स्कुलमा जान्थें । एक महिना पुगेपछि पैसा तिर्ने बेलामा त्यो स्कुल छाड्थें अनि अर्कोमा जान्थें । यसरी डोरेमी, साधना कलाकेन्द्र लगायत ५, ६ वटामा सिकें बिना पैसा । पछि इटहरीका राम कार्कीसँग भेट भयो, मेरो संगीत प्रतिको लगाव देखेर उहाँले निशुल्क १ वर्ष सिकाउनु भयो ।

एसएलसी तीन पटकमा पास भएँ, २०५५मा । त्यो पनि तेस्रो डिभिजनमा । कम्पार्ट पाउँदापनि पास नभएपछि मेरो विधा होइन रहेछ भनेर किताब जलाएर गायक हुन हिडेको हुँ सुरुमा । तेस्रो पटकमा पास भएपछि चाहिं प्लस टु पढ्न गाउँ फर्किएँ अनि इटहरीमा एडमिसन गरें । आफैं काम गरेर पढ्नु पर्ने अवस्था भएकाले एउटा बोर्डिङमा महिनाको ६ सय पारिश्रमिकमा २ वर्ष पढाएँ । ठुलो बुवा (तिप्पा) को छोरी रिता राईले प्लस टु पास गरेर मात्र काठमाडैं आईज भन्नु भएको थियो । उहाँको शान्तिनगरमा बेलिलोन स्कुल, कलेज छ । पास गरेपछि उहाँले भने अनुसार काठमाडौं गएर उहाँ सँगै बसें केही महिना । त्यसपछिकाठमाडौंमै एउटा स्कुलमा २ बर्ष पढाएँ, मासिक २ हजारमा । तलब चाहिं किस्ता किस्तामा दिन्थ्यो, पैसा लिन अझै बाँकी छ । पैसै नपाएपछि त्यो काम छाडेर अरु काममा लागें ।


पढाउने काम छाडेपछि घरमा पेन्टिङ गर्ने काम गरें । घर बनाएको ठाउँमा बालुवा चाल्ने कामपनि गरें । ठेकेदारले जे भन्यो त्यहि काम गर्नु परि हाल्यो । कहिले ईँटा बोकियो । खाजा खान २० रुपैयाँ र दिनको १ सय हाजिरा पाईन्थ्यो त्यतिबेला । शान्तिनगरमा ४ तला माथि घरमा पेन्टिङ गर्दा छेउबाटै प्लेन उडेको देख्थें । कुनै दिन म पनि यहि जहाजमा चढ्न पाए कस्तो हुन्थ्यो, विदेश जान पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । आज त्यो सपना पुरा भएको छ । धेरै पटक प्लेन चढियो, गायक भएर विदेशपनि पुगियो, अझै अफर आईरहेका छन् ।

त्यतिबेला राजेशपायलको खुब ठूलो फ्यान थिएँ, सपनामा पनि देख्थें उनलाई तर चिनजान थिएन । घरको छततिर ज्यामी काम गर्दा संगीत प्रशिक्षक ओमप्रकाश राईको संगीतमा राजेशपायलले गीत गाएको थाहा थियो । त्यसबेला राजेशपायल विरामी भएको खबर सुनें दुख लाग्यो, भेट्न जाने मन लाग्यो तर कहाँ जाने सम्पर्क थिएन ।
हाँस्य कलाकार साथी गणेश इसारासँग भेट भयो । उहाँले ओमप्रकाश राईसँग भेट गराउनु भयो । त्यो दिन ओमप्रकाश राजेशपायलकहाँ जान लाग्नु भएको रहेछ । म पनि उहाँसँगै गएँ । राजेश दाई विरामी भएर, केस काटेर बस्नु भएको रहेछ । दाईकोमा गितार रहेछ, मैले बजाउँदै गाएँ । उहाँले ‘कसको गीत ?’ भन्नु भयो । मैले आफ्नै भनेपछि मन पराउनु भयो । अनि मसँग एउटा गीत माग्नु भयो । मलाई विश्वासै लागेन । आफैंलाई संगीतकार भन्न अफ्ठ्यारो लाग्थ्यो । उहाँले विरामी अवस्थामा मसँग एसिष्टेन्ट छैन, म सँग बस्छौ भन्नु भयो । मलाई पनि उहाँसँग संगत गर्न मन भएको, हुन्छ भनें । त्यसपछि मेरो संगीतमा उहाँले गाउनु भएको ‘सेलि आईलभ यु ’ गीत बन्यो र हिटपनि  भयो । त्यसपछि ‘बसमा छैन यो मन…’ पनि हिट भयो ।

उहाँसँगको भेटले मलाई संगीतमा स्थापित हुने मौका मिल्यो । अहिलेसम्म आफ्नो एकल एल्बम ३ वटा निकालें र ६ वटा फिल्ममा संगीत दिएको छु । अहिले राम जाने फिल्मको पुरै संगीत गर्दैछु । फुटकर गीतपनि धेरै गाएको छु, अरुका धेरै वटा एल्बममा संगीत भरेको छु । नेपाली संगीत क्षेत्रलाई राम्रो गीत संगीत दिने अनि आफ्नो फरक पहिचान बनाउने सोंचमा छु । मौलिक संगीतकारको परिचय बनाउन चाहान्छु ।

अहिले बाटोमा हिड्दा पहिला मैले जस्तै भारी बोकिरहेका, बालुवा चालिरहेका र घरको छतमा रंग लगाईरहेका मान्छे देख्दा पुरानो दिनको याद आउँछ । अबको मेरो सपना छ, सानो एउटा घर बनाएर आमा र बोजुलाई राख्ने । मेरो बारेमा टिभी, पत्रिका, रेडियोमा थाहा पाएर आफन्तहरुले यसले पैसा कमाउँछ तर घरमा दिंदैन भन्छन् । भाईले साउदीमा यत्रो कमायो भनेर गाली गर्छन् । तर उहाँहरुलाई यथार्थ थाहा छैन । संगीतमा मेरो संघर्ष अझै जारी छ र सँधै जारी रहने छ ।

तपाईको प्रतिक्रिया

Loading…