बिराज भट्ट र शङ्कर पाण्डेबिच कुर्सि र मुक्का हानाहान : भट्टले मागे माफी, भएको यस्तो थियो

ईटहरी/ अभिनेता विराज भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । सोमवार साँझ विराजले आफूले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’ का निर्माण नियन्त्रक पाण्डेमाथि हातपात गरेका थिए । अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् ।

विराजले पाण्डेमाथि हात हाल्नु आफ्नो गल्ती रहेको स्वीकार गर्दै माफी मागेको संघका अध्यक्ष पुष्पर लामाले जानकारी दिए । सोमवार साँझ लेनदेनलाई लिएर विराज र शंकरबीच बानेश्वरको एक क्याफेमा हात हालाहाल भएको थियो । अब विराज र भट्टबीच लेनदेनको विवाद पनि सुल्झिएको अध्यक्ष लामाले बताए । ‘शंकरजीले अब चलचित्र ‘साङ्लो’ नगर्ने हुनुभएको छ । साथै, उहाँले लिन बाँकी पैसा पनि नलिने र विराजजीले पनि शंकरजीलाई दिइसक्नुभएको पैसा नलिने हुनुभएको छ । शान्त वातावरणमा उहाँहरुको विवादलाई संघले सुल्झ्याएको छ’, अध्यक्ष लामाले भने । अभिनेता भट्टले पाण्डेलाई प्रोडक्सन डिजाइनरको रुपमा गएको पुषमा सम्झौता गरेका थिए ।

फागुनमा सुरु हुने भनिएको चलचित्रको छायांकन बैशाख लाग्दा समेत सुरु नभएपछि पाण्डेले चलचित्रबाट हात झिक्ने र लिएको पैसा पनि फिर्ता नगर्ने बताएपछि विराजले उनीमाथि हातपात गरेका थिए । विराजले चलचित्र छाडे पनि बुझेको पैसा फिर्ता दिन आग्रह गरेका थिए । विराजले टाउकोको पछाडिको भागमा हिर्काएपछि प्राविधिक पाण्डे भूइँमा लडेका थिए ।

अभिनेता विराज लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गर्दैछन् । उनी पछिल्लो पटक चलचित्र ‘जय परशुराम’ मा देखिएका थिए । उनको आफ्नै प्रमुख भूमिका रहने चलचित्र ‘साङ्लो’ मा पूर्वमिस नेपाल निकिता चाण्डक लिड हिरोइनमा अनुबन्ध भइसकेकी छन् । प्रोडक्सन म्यानेजरसँग लफडा भएपछि यो चलचित्रको छायांकन अझै केही पछाडि धकलिएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…