पहिलो याक्खा चलचित्र ओम्लाको प्रदर्शनी सुरु

धरान । आदिवासी याक्खा जातिको संस्कृतिमा आधारित पहिलो चलचित्र ओम्लाको प्रदर्शनी भएको छ । ओम्लाको सोमबार धरानमा बिशेष प्रदर्शनी गरिएको हो । बिशेष प्रदर्शनीमा कलाकारहरुलाई याक्खा जातिको सामाजिक संस्था किरात याक्खा छुम्माका पदाधिकारीहरुले खादा र पूmलमाला लगाई दिएर सम्मान गरेका थिए ।  ओम्लामा अजय जिमी, सागर सिंगल, मनोज शाक्य, र सिर्जना निङ्लेखुले मुख्य भूमिका निर्वाह गरेका छन् । बाँकी भूमिकामा जहरसिं जिमी, कमला लिम्बुहिम, मागमान लिंखा, कमला लिंखा, कविता जिमी आदि छन् । नेपाली भाषामा बनेको ओम्लाका केही पात्रहरुको संवाद याक्खा भाषामा रहेको छ ।

चलचित्रका सबै संवादको अंग्रेजी सबटाईटल’ राखिएको छ । सामाजिक बिषयवस्तुलाई मुख्य कथा बनाईएपनि ओम्लामा याक्खा जातिको संस्कार–संस्कृतिलाई प्रशस्त देखाइएको छ । एक घण्टा २० मिनेट लामो चलचित्रमा याक्खाको डोकेनी नाच, धान नाच, मृत्यु संस्कार र छोरीको विवाह पनि समेटिएको छ । याक्खाहरुले आफ्नो ऐतिहासिक थलो मान्ने दशमझिया, पाँचमझिया र पाँचखप्पन थुमहरु संखुवासभाको दक्षिण र धनकुटाको उत्तरी क्षेत्रमा पर्छ ।

ओम्लामा प्रयोग भएको मझिया’ शब्द दर्शकका लागि नौलो हुनसक्छ । चलचित्रकी मुख्य पात्र (नायिका) ओम्लाकी बाबु गाउँको मझिया हुन्छ । मझिया शब्द किपट प्रथाको प्रचलनताका याक्खा जातिमा प्रचलित प्रथा हो । मझिया पगरी पाएकाहरु गाउँका हर्ताकर्ता भई स्थानीय प्रशासकको रुपमा तिरो उठाउनेलगायतका काम गर्थे ।

ओम्लामा कथाको महत्वपुर्ण पात्र मझियाको वरिपरि बाँकी पात्रहरु घुम्छन् । सानैमा आमा गुमाएकी ओम्ला बिहे गर्न पटक्कै मान्दिन । उ मझियाले पालेर हुर्काएको गाउँकै टुहुरो उहाङलाई एकतर्फी माया गर्छे, विवाह गर्न भन्छे । तर उहाङ मान्दैन । łजुन थालमा खाएँ, त्यसैमा प्वाल पार्दिन’, उहाङ पन्सिन्छ ।

मेला भर्न गएकी ओम्लालाई अर्कैले भगाएर लैजान्छ । तर झगडालु स्वभावको ओम्लाको श्रीमान खुकुरीले अरुलाई काट्न कुदाउँदा आफै लडेर मर्छ । मझिया उहाङलाई लिएर ओम्लालाई घर फर्काउन जान्छ । फर्कंदा मझिया बिच बाटोमै थकाई मार्न बस्छ, उहाङ र ओम्ला बाटोमा अघि बढ्छन् ।

कथा सामान्यझैं लागेपनि संवाद र शैलीमा देखिने याक्खा लवज रोचक छ । प्राय ओझेलमा रहेको याक्खा संस्कारहरु खास गरेर अन्य समुदायका दर्शकको लागि चाख लाग्दो हुन्छ । पाश्र्वगीत łयो दुनियाँमा तिमीबाहेक कोही, छैन अरु . . ’ ले ओम्लालाई थप सुन्दर बनाएको छ । याक्सिघुम’ चलचित्रको अर्को रोचक पक्ष हो । गुरुङ जातिको रोंधीसँग मिल्दोजुल्दो याक्सिघुम याक्खा जातिको प्राय लोप भईसकेको प्रथा हो ।

चलचित्रको अधिकांश छायाँकन संखुवासभाको तामाफोकमा गरिएको निर्माण नियन्त्रक राजकुमार याक्खाले जानकारी दिए । उनका अनुसार केही दृश्य भने तेह्रथुमसँगको सीमावर्ती तीनजुरे क्षेत्रमा खिचिएको छ । ओम्लाको कथा याक्खा जातिको संस्कार–संस्कृतिका अनुसन्धानकर्ता मागमान लिंखाले लेखेका हुन् ।

यसपछि याक्खाहरुको ऐतिहासिक भूमि संखुवासभा र धनकुटामा ओम्लाको प्रदर्शन हुने निर्माता अजय जिमीले बताए । याक्खाहरुको बसोबास रहेको ईलाम, पाँचथर, मोरङ, झापाका साथै राजधानीमा पनि चलचित्र देखाईने निर्माता जिमीले जनाए । łविदेशमा लैजाने पनि तयारी गर्दैछौं’, निर्माता जिमीले भने ।

चलचित्र विकास बोर्डको łदोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान’ कार्यक्रममा ओम्लालाई पनि सम्मान गरिएको थियो । अरुण प्रधान निर्देशित ओम्ला पुस २७ देखि धरानमा हुने पाँच दिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि समावेश छ ।

तपाईको प्रतिक्रिया

Loading...