नातिले सार्वजनिक गरे हजुरबाको ‘नाइलनको सारीमा’ गीतको असली भाका (भिडियो)

साउन ६ गते सार्वजनिक गरिएको ‘छक्का पन्जा २’को गीत सार्वजनिक भएपछि आफ्ना हजुरबाको सिर्जनामाथि गरिएको लापरवाहीलाई चुनौती दिन उनका नाति सारङ्गीवादक श्याम नेपालीले ‘ए दाजु नसमाउ नारीमा’ असली भाका सार्वजनिक गरेका छन्। युट्युबमा सार्वजनिक यो पुस्तैनी गीतलाई उनले सारङ्गीका साथमा आफ्नै स्वरमा गाएका छन्। भिडियो युट्युबमा गत शनिबार अपलोड गरिएको हो। हाल विदेशमा रहेका श्यामको उक्त भिडियो नेपालीवेबसाइटडटकमले अपलोड गरेको हो।

 

चौतर्फी आलोचनापछि ‘छक्का पन्जा २’मा समावेश ‘ए दाजु नसमाउ नारीमा’ गीतबाट सङ्गीतकारका रुपमा अल्मोणा राणा उप्रेतीको नाम हटाइ यसका असली सर्जक कान्छा मगर नेपालीको नाम राखिसकिएको छ। सुरुमा अल्मोणालाई सङ्गीतकार र एरेन्जरका रुपमा क्रेडिट दिइएको थियो। तर कान्छामगर नेपालीमाथि अन्याय गरेको भन्दै परिवारजनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा हाल्ने तयारी गरेपछि अल्मोणाको नाम हटाइ कान्छा मगर नेपाली र उनका पनाति प्रिन्स नेपालीको नाम सङ्गीतकारका रुपमा राखिएको छ। अल्मोणाकाे नाम भने एरेन्जरका रुपमा उल्लेख छ।  छक्का पन्जा २ को निर्माण पक्षका तर्फबाट दीपकराज गिरीले यसबारे अल्मोणाले जानकारी नदिएकोले त्रुटी भएको भन्दै सामाजिक सञ्जाल मार्फत गल्ती सच्याइने बताएका थिए।

उक्त भिडियोमा गाइएको गीतको शब्द यस्तो छ:

हे दाजु नसमाउ नारीमा

जान्न म त डिजलको गाडीमा

लाउनु पर्ने रातो सारी 

पैसा धेरै जाने

हिड्नु पर्ने बजारमा ढाँचा पारी पारी

चरी बस्यो काफलको रुखैमा…

भिडियोमा यस गीतका गायक र सङ्गीतकार कान्छा मगर नेपाली भनी उल्लेख छ। ख्यातिप्राप्त लोकगायक रामशरण नेपालीका पिता, प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुरबुवा हुन् कान्छामगर नेपाली। उनको १९७७ सालमा जन्मेका उनको २०६३ सालमा ८६ वर्षको उमेरमा निधन भएको थियो। प्रीन्स नेपाली कान्छामगर उनका पनाति हुन्। प्रिन्सले एकताका अल्मोडा राना उप्रेतीलाई आफ्ना जिज्युबाजेको ‘नाइलनको सारी’मा गीत सुनाएका थिए। यसकै आधारमा अल्मोणाले ‘छक्का पन्जा २’ मा गीत बनाएर आफ्नो नाम सङ्गीतकारका रुपमा राखेपछि यसले विवादको रुप लिएको हो। नेपालखबरबाट

तपाईको प्रतिक्रिया

Loading...