दिवेश ३१ प्रतिशत भोट सहित शिर्ष स्थानमा, के उनले जित्लान् त अमेरिकन आईडलको उपाधी ?

ईटहरी/ चर्चित अमेरिकी मनोरञ्जनात्मक समाचार वेबसाइट गोल्ड डर्बीले ‘आर्थर गन’ अर्थात नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपाधि नजिकै भएको पूर्वानुमान गरेको छ । अमेरिकन आइडलको फाइनल आइतबार मे १७ का दिन नेपाली समयअनुसार भोलि सोमबार बिहान हुँदैछ । मे १० का दिन टप ७ प्रतिस्पर्धीहरुले २ गित गाएका थिए । एउटा मदर्स डेको सम्मानमा र अर्को डिज्नी क्याटलगबाट थियो ।

यी ७ प्रतिस्पर्धीमध्ये ५ जना मात्र आइतबारको फाइनलमा पुग्नेछन् । यसको निर्णय भोटको आधारमा हुनेछ । गोल्ड डर्बीका अनुसार अमेरिकन आइडलको उपाधि कसले जित्ला भन्ने प्रश्नको जवाफमा अमेरिकन आइडल फ्यानहरु २ जना प्रतिस्पर्धीका बीचमा विभाजित छन् । ती दुई प्रतिस्पर्धीमध्येका एक नेपाली आर्थर गन अर्थात दिवेश पोखरेल हुन् र अर्की जस्ट साम हुन् ।

फ्यानको भोटमा अर्थर गनले ठूलो अग्रता लिइरहेको रिपोर्टमा उल्लेख छ साथै सामाजिक संजालमा अधिकांश प्रतिक्रिया पनि दिवेश कै पक्षमा देखिएका छन् । रिपोर्टका अनुसार आर्थर गनले ३१ प्रतिशत भोटसहित अग्रता लिइरहेका छन् र जस्ट साम २१ प्रतिशत भोटका साथ उनलाई पच्छ्याइरहेकी छिन् ।

यी दुवै गत हप्तादेखि ४ अंकले अरु प्रतिस्पर्धीभन्दा अगाडि छन् । यीबाहेक अन्य ५ जना उपाधिका प्रतिस्पर्धीहरुमध्ये केवल ३ जनाले मात्र दोहोरो अंकको भोट पाएका छन् । उपाधिका ७ प्रतिस्पर्धीमध्ये २ जना आइतबारको फाइनलको सुरुमै बाहिरिनेछन् । त्यसपछि टप ५ प्रतिस्पर्धीहरुले २–२ गीत गाउनेछन् । एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…