जेबी टुहुरेमा पुरानै जोस, गाए एक दर्जन गीत

माेरङ / शिरमा भदगाउँले टोपी । टिपिकल सर्टपेन्ट र सटएमाथि स्टकोटमा सजिएर विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा शनिबार साँझ जनगायक जेबी टुहुरे मञ्चमा पुग्दा सबैले ताली बजार स्वागत गरे । जेबी टुहुरे फाउण्डेसनले आयोजना गरेको टुहुरेको एकल सांगीतिक साँझमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सम्मान गरेपछि उनको प्रस्तुति आरम्भ भएको थियो ।

‘आमा तिम्रो माया कञ्चन पानी जस्तो…..’ बोलको गीतबाट प्रस्तुति थालेका टुहुरेले दोस्रो गीत छोराहरू हो, छोरीहरू हो, वीर छोराछोरीहरू… प्रस्तुत गरिरहँदा हलले ताली बजाएर स्वागत गरेको थियो । ७६ वर्षको उमेरमा पनि युवा जोस जाँगर निकालेर आफ्नो प्रस्तुति राखेका टुहुरेले ‘दुःखको बोझ बिसाउन चौतारी बनाउ है… गीत प्रस्तुत गर्दा सहभागी सबैको ध्यान खिच्न सके ।

पञ्चयात कालदेखि जनता जगाउने गीत गाउँदै आएका टुहुरेले २६ वर्षको उमेरमा गाएको ‘बसाइँ हिड्नेको ताँतीले, बस्नेको मन रुवाउँछ… बोलको गीत युवा जोसको साथ प्रस्तुत गरे । टुहुरेले एकल साँझमा कोसीको पानी सलल…., पानी चल्दैन रे, रगत चल्दछ…, बरु मेरो छात्ती छेड.. जस्ता १३ वटा गीत प्रस्तुत गरे । टुहुरेले कालजयी गीत आमा दिदी बहिनी हो………. सुरु गर्दा सहभागीले चर्को हुटिङ गरेका थिए । मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितले नाचेर साथ दिए ।

करिव २ घण्टासम्म लगातार प्रस्तुति दिएका उनको स्वरमा वृद्धावस्थाको छनक थिएन । उनमा पुरानै जोस थियो । टुहुरेलाई साथ दिएर मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका उपप्रमुख इन्दीरा कार्की कार्यक्रमको सुरुदेखि अन्तिमसम्म थिए । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीसहित सांसदहरु, दलका नेता तथा कार्यकर्ताहरु, उद्योगी, व्यापरी र सर्वसाधरणहरूले भरपुर मनोरञ्जन लिएका थिए ।

पञ्चयात कालदेखि गीत संगीतको माध्यमबाट जनतालाई जगाउँदै आफू जन्मे हुर्केको ठाउँमा एकल सांगीतिक प्रस्तुति दिन पाउँदा निक्कै रमाइलो भएको टुहुरेले अनुभूति सुनाए । टुहुरेलाई एकल साँगीतिक साझमा गायिका मधु गुरूङ्ग, गंगा राई, गायक आकाश थापा, सञ्जिव धिमालले साथ दिएका थिए । कार्यक्रममा मुख्यमन्त्री राईले परिवर्तनको आन्दोलनमा गीत, संगीतको माध्यमबाट जनगायक जेबी टुहुरेले खेलेको भूमिका अतुलनीय रहेको बताए । संघीय गणतन्त्र र लोकतन्त्र स्थापनाको श्रेय पनि जनगायक टुहुरेहरुलाई जाने उनको भनाइ थियो । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले परिवर्तनको आन्दोलनमा ठूलो योगदान पु¥याएका टुहुरेको साँगीतिक साँझ विराटनगरमा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

Loading…