खुला नृत्य प्रतियोगिताको बेलबारी अडिसन सम्पन्न

विद्यार्थीहरुको कला र प्रतिभा प्रबर्द्धन गर्ने उदेश्यले आयोजित खुल्ला डान्स प्रतियोगिताको पहिलो चरणको अडिसन मोरङ बेलबारीमा सम्पन्न भएको छ । केही समयअघि बिर्तामोड अडिसनबाट शुरु गरिएको प्रतियोगिता अन्तरगत शनिबार बेलबारी अडिसन गराइएको हो । मल्टी इन्फर्मेसन सेन्टर (मिक) नेपालको आयोजनामा बेलबारी नगरपालिकाको हलमा भएको अडिसनमा बेलबारी र डागीहाट क्षेत्रका ४९ जनाले सहभागिता जनाएका थिए ।

१२ वटा निजी स्कुल तथा कलेजका ४९ जना प्रतियोगी मध्ये ४६ जना दोस्रो अडिसनका लागि छनोट भएको आयोजक मिक नेपालका अध्यक्ष तथा प्रतिभा प्रबर्द्धन प्रतियोगिताका कार्यक्रम निर्देशक तिलक परियारले जानकारी दिए । युवा संगीतकार सुरेन्द्र मोतेको आतिथ्यतामा भएको बेलबारी अडिसन कार्यक्रममा गोरखा फिल्म बेलबारीका उपेन्द्र राइ र आयोजक मिक नेपालका तिलक परियार निर्णायक रहेका थिए । प्रतियोगितामा शिक्षा सन्देश इङ्लिस स्कुलबाट ८ जना छनोट भएको बिद्यालयले जनाएको छ ।

२०७३ असोज ८ गते बिर्तामोड अडिसनबाट शुरु भएको प्रतियोगितामा यसअघि धरानमा समेत पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ । बिर्तामोड र धरान अडिसनको पहिलो चरणबाट १८ जना दोश्रो चरणको लागि छनोट भइसकेको आयोजकले जनाएको छ । पहिलो चरण अन्तरगत यही पुस १५ गते कोशी हरैंचास्थित जेसिस भवनमा विराटचोक अडिसन हुनेछ । त्यसपछि स’नसरीको इटहरी, तरहरा, इनरुवा र चक्रघट्टी तथा विराटनगरमा पहिलो चरणका अडिसन गरिने आयोजकले जानकारी दिएका छन् । एक स्थानको अडिसनमा छुट भएका इच्छुकले अर्को स्थानमा गइ भाग लिन सक्नेछन् ।

पहिलो चरणका सवै अडिसन सकिएपछि अडिसन भएका सवै स्थानमा गइ दोश्रो चरण शुरु गरिनेछ । जसबाट टप ट्वान्टी छनोट गरिएपछिका सवै अडिसनका प्रतियोगीेता कार्यक्रम मकालु टेलिभिजनबाट प्रसारित हुने परियारले जानकारी दिए । उत्कृष्ट हुने बिद्यार्थी तथा बिधालय वा कलेजलाई पुरस्कृत गर्दै स्कुलर कलेज अफ द इयर घोषणा गरीने छ । प्रतियोगिता कार्यक्रमको अफिसियल मिडिया मकालु टेलिभिजन, संयन्त्र डटकम र हटलाइन दैनिक रहेका छन् । नृत्य प्रतियोगिता प्रतिभा प्रबर्द्धन कार्यक्रमको पहिलो बिधा हो । नृत्य प्रतियोगिताबाट विजेता छनोट गरिएपछि गायन र सुन्दरी प्रतियोगिता समेत गराइने प्रतिभा प्रबर्द्धन कार्यक्रमका निर्देशक तिलक परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...