कुमार सानु विशेष प्रस्तुति लिएर विराटनगर आउँदै

विराटनगर, साउन २५ / चर्चित भारतीय गायक कुमार सानुले विराटनगरमा विशेष सांगीतिक प्रस्तुति दिने भएका छन् । मुन्टेज इन्टरनेसनल र फन एन फुड भिलेज रिसोर्टको संयुक्त आयोजनामा असोज ७ (सेप्टेम्बर २३ ) मा विराटनगरमा ‘कुमार सानु लाइभ इन कन्सर्ट विथ टिम एट विराटनगर’ मा उनले विशेष सांगीतिक प्रस्तुति दिन लागेका हुन् । ९० को दशकमा बलिउडमा उदाएका गायक केदारनाथ भट्टचार्य पछि गएर कुमार सानु भएका थिए । २७ वर्षे लामो सांगीतिक यात्राक्रममा कुमारले हालसम्म करिब १७ हजारभन्दा बढी गीत गाइसकेका छन् । उनले गीत गाएर गिनिज बुकमा नाम लेखाएका छन् ।

कुमार सानु भारतमा चर्चित पाश्र्व गायकका रूपमा परिचित छन् । भारतको कोलकतानिवासी कुमारले आधुनिकसँगै थुप्रै बलिउड चलचित्रका गीतमा आवाज दिएका छन् । कुमार सानु ती नै व्यक्ति हुन् जसले एकताका एकै दिनमा २८ वटासम्म गीत गाएका थिए । उनै चर्चित गायक कुमार सानुले नेपाली गीत पनि गाएका छन् । ‘म त अब रिसाउँछु’, ‘फूल भए जिन्दगी’, ‘साँची राखूँजस्तो लाग्छ’, ‘सपना–सपना’, ‘यो कथा हो तृष्ण मेरो’, ‘दुई थोपा आँसु’, ‘जतिसम्म जीवन’, ‘भरे आउँछु सपनीमा’ जस्ता थुप्रै गीत गएका छन् । उनले गाएका अधिकांश गीत निकै हिट भए ।

उनै विश्वविख्यात गायकलाई मुन्टेज इन्टरनेसनल र फन एन फुड भिलेजले नेपालीको महान् पर्व दशैंको छेक पारेर विराटनगरमा प्रस्तुत गर्न लागेका हुन् । आयोजकले दिएको जानकारीअनुसार कुमार सानुले विराटनगरमा आफ्नै ब्यान्डमा प्रस्तुति दिनेछन् । आयोजकमध्येका फन एन फुड भिलेज रिसोर्टका सञ्चालक भुपाल राईका अनुसार उक्त कार्यक्रममा नेपाली कलाकारको समेत प्रस्तुति रहने छ । कार्यक्रममा भारतीय गायक कुमार सानुसँगै नेपाली गायिका देवीका बन्दना, हास्यकलाकार जितु नेपाललगायतले पनि प्रस्तुति दिनेछन् ।

आयोजक मुन्टेज इन्टरनेसनलका प्रबन्ध निर्देशक रोशन पराजुलीका अनुसार उक्त कार्यक्रमका लागि झन्डै ४ हजार टिकट बेच्ने लक्ष्य आयोजकले लिएको छ । कार्यक्रममा भिआइपीका लागि टिकट दर ५ हजार र सामान्य टिकट २ हजार ५ सय रुपैयाँ तोकिएको छ । विराटनगरको हाटखोलास्थित फन एन फुड भिलेज रिसोर्टमा आयोजना हुने कार्यक्रममा कुमार सानुले करिब दुई दर्जन चर्चित भारतीय गीत र करिब आधा दर्जन नेपाली गीत गाउने कार्यक्रम रहेको छ । दिलिप प्रेम प्रसाद न्यौपाने, रोशन पराजुली, राजाराम गिरि, दिपक घिमिरे, निरज सिंह, विश्वास लुइँटेल र सुडान चौहानको सहकार्य मुन्टेज इन्टरनेसनलले केहि सात अगाडी राजधानीमा सफलतापुर्वक “कुमार सानु लाइभ इन कन्सर्ट विथ टिम” आयोजना गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...