किन हटाईयो ‘प्रसाद’बाट निश्चलको सिन ?

चलचित्र ‘प्रसाद’बाट नायक निश्चल बस्नेतको एक सिन हटाइएको छ । निर्देशक तथा नायक निश्चलले आफ्नो सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै उक्त सिन चलचित्रबाट हटाइएको बताएका छन् । सो तस्बिरमा चलचित्रका मुख्य कलाकारमध्येका एक निश्चल रक्सीको नशामा देखिएका छन् । दरबारमार्गको सडकपेटीमा देखिएका निश्चलको हातमा मदिराको बोत्तल देखिएको छ । चलचित्र मंसिर २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा निश्चल बाहेक विपिन कार्की र नम्रता श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । विपिन र नम्रतालाई दर्जी दम्पतीको भूमिकामा देखाइएको छ ।

सन्तान नहुँदा श्रीमान र श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई यस फिल्मको मुख्य कथा बनाइएको छ । यस्तै निश्चललाई विपिन र नम्रताको बैवाहिक जीवनमा भाँजो हाल्ने भिलेनको रुपमा देखाइएको छ । यस फिल्मका निर्देशक दिनेश राउत हुन् भने सुवास थापा यस फिल्मका निर्माता हुन् । चलचित्रको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया