आँचल भन्छिन्, ‘२ लाख लिएर १०/१५ लाखको डंका फुक्छन्’

इटहरी /अहिले चलेका अभिनेताले ५० लाख र अभिनेत्रीले २० लाखसम्म पारिश्रमिक डिमाण्ड गर्न र बुझ्न थालेको चर्चा छ । तर, यसलाई सत्य मान्ने कुनै आधार छैन । एग्रिमेन्टमा पारिश्रमिक एउटा हुन्छ अनि मिडियालाई बताउनका लागि कलाकारले अर्कै रेट तयार पारेका हुन्छन् । प्रायः कलाकारहरु हातमा परेको वास्तविक पारिश्रमिकभन्दा ३/४ गुणा बढाएर मिडियालाई बताउने गरेका छन् । किनकि, यहाँ कोही अरुभन्दा आफूलाई कमजोर देखाउन चाहँदैनन् ।

कलाकारको पारिश्रमिककै कारण फिल्म निर्माण महँगो भइरहेको बहस चलिरहेको अवस्थामा अभिनेत्री आँचल शर्मा पारिश्रमिकमा होडबाजी गर्नु राम्रो नभएको तर्क राख्छिन् । केही दिनयता यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’ को प्रचारमा व्यस्त उनी देखासिखीको भरमा कलाकारहरुले पारिश्रमिक वृद्धि गरिरहेको बताउँछिन् । २ लाख लिएर १०/१५ लाखको डंका फुक्ने कलाकारहरु पनि आफूले धेरै देखेको उनी सुनाउँछिन् ।

कलाकारको बढ्दो पारिश्रमिकलाई लिएर एक अन्तर्वार्तामा उनले भनिन्, ‘म पनि २ लाख लिएर १० लाखको धाक लगाउन सक्छु । तर, म त्यसो गर्दिनँ । किनकि, मेरो भ्यालु कतिसम्म छ त्यो मलाई थाहा छ ।’ कलाकारले लिने पारिश्रमिक गोप्य हुनुपर्ने पनि उनको भनाई छ । आँचल अगाडि भन्छिन्, ‘अहिले कलाकारबीच पारिश्रमिक कसले बढी लिने भन्ने नराम्रो होडबाजी चलेको छ । यसले कसैलाई फाइदा गर्दैन ।’ उनले कलाकारलाई घाँटी हेरी हाड निल्न सुझाइन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…