हजमा बोरिङ मेसिन भेटिएपछि पानी उत्पादन र बिक्रीमा रोक

विराटनगर / विराटनगर महानगरपालिका – ७ बुद्धमिलन चौकस्थित ‘ऊ जे.के. पानी उद्योग’ ले सेप्mटी टयाङ्गकी (हज) नजिक प्रशोधित पानी उत्पादन गरिने बोरिङ मेसिन राखेको फेला परेपछि तत्काल उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ ।

हज छेउमा प्रशोधित पानी उत्पादन गर्ने बोरिङ मेसिन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार दिउँसो अनुगमनको क्रममा फेला पारेपछि तत्कालको लागि उद्योगले उत्पादन गर्ने ‘एच टु’ पानी उत्पादन र बिक्री वितरणमा रोक लगाएको हो । पानी उत्पादन गर्ने बोरिङ मेसिन र हज नजिक भएकोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलिफार्म जिवार्णु हुनसक्ने आशंका गर्दै तत्कालका लागि सो उद्योगबाट उत्पादन हुने पानीको बिक्री वितरणमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

खाद्य निरीक्षक शंकर न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनको क्रममा हज नजिक बोरिङ मेसिन राखिएको फेला परेको हो । त्यसपछि २ थान प्रशोधित पानीसहितको जार ल्याब परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगिएको छ । यसको नतिजा ल्याब परीक्षणपछि आउने न्यौपानेले बताए । उनका अनुसार पानीको ल्याब परीक्षण रिर्पोट नआएसम्म उद्योगलाई पानी उत्पादन र बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको बताए ।

उक्त उद्योग जितेन्द्रकुमार यादव, ओमप्रकाश राउत र कौशालन्द्रकुमार कर्णले सञ्चालन गरेका हुन् । उक्त पानी उद्योग प्यानमा भने दर्ता भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिएको अनुज्ञा पत्र पनि उपभोक्ताले देखिने गरि राखिएको पाइएन ।

पानी उद्योगका सञ्चालक मध्येका एक ओमप्रकाश राउतले दैनिक २ हजार देखि ३ हजार लिटर प्रशोधित पानी उत्पादन गरेर बिक्री गर्ने गरेकोे जानकारी दिए । उनले आगामी दिनमा प्रशोधित पानी उत्पादन गरिँदा अपनाउनुपर्ने सावधानीलाई सुधार गरिँदै लैजाने बताए ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…