बेलबारीमा नामै मात्रको आईसोलेसन, स्थानीय निकाय गैरजिम्मेवार

बेलबारी । अहिले विश्वभर कोरोना (कोभिड १९) भाईरसको महामारी छ । एक सातादेखि मुलुक लकडाउन छ । नेपालमा समेत ५ जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । स्थानीय निकायहरुले सञ्चालन गरेको आईसोलेसन वार्ड नामै मात्रको रहेको स्थानीयहरु गुनासो गर्न थालेका छन ।

प्रदेश १ मै पहिलोपटक आईसोलेसन वार्ड तयार गरेको दाबी गरेको बेलबारी नगरपालिकाको आईसोलेसन वार्ड नामै मात्रको रहेको स्थानीयले गुनासो गरेका छन । सो वार्डमा न त कुनै सुरक्षाकर्मी छन न त कुनै सेवा सुबिधा नै छ । के गर्नु नगरपालिकाले खटाएको काम गर्नै पर्छ,तर हामी सँग न त कुनै सुबिधा छ,न त कुनै सुरक्षा नै हामी आफै पनि सुरक्षित छैनौँ । तरपनि सुरक्षाको लागि स्थानीय तहले सावधानी अपनाउन नसकेको स्वास्थ्यकर्मीहरु नै गुनासो गर्छन ।

आईसोलेसन बनायौँ भनेर मिडियाबाजी गर्ने नगरपालिकाको आईसोलेसन नामै मात्रको भएको र कुनै पनि सुबिधा समेत नभएको नेकपाका जिल्ला सदस्य प्रताप थापा बताउँछन । उनले स्थानीय तहले बिपन्न बर्गका मानिसहरुका लागि कुने कार्यक्रम नल्याएको समेत आरोप लगाए । बेलबारी वडा नम्बर १,२,३ र ११ मा केही संघसंस्था र स्थानीयहरुले आफनै लगानीमा राहत बितरण गरिरहेपनि नगरपालिकाले भने कुनै प्याकेज ल्याउन सकेको छैन ।

बेलबारी र आसपासमा हालसम्म कुनैपनि कोरोना संक्रमित भेटिएका छैनन् तरपनि स्थानीय निकाय भने रोकथामका लागि कार्यक्रम भन्दा पनि प्रचारबाजीमा उत्रिएको र कार्यक्रम नल्याएको स्थानीयको गुनासो रहेको छ । यस बिषयमा बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली सँग सम्पर्क गर्दा उनले आबश्यक स्वास्थ्य सामाग्रीहरु संघिय सरकार सँग माग गरिएको र आईनपुगेका कारण स्थानीयको गुनासो स्वभाविक भएको बताईन । उनले नगरपालिकाले शनिबार आकस्मिक बैठक बसी राहत प्याकेज बनाएको तर बितरण गर्न बाँकी रहेको बताईन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…