पर्यटन वर्ष २०२० लाई लक्षित गरी नेपालकै अग्लो बुद्धको मूर्ति बनाइँदै

पाँचथर / पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो । नगरपालिकाले दिएको १५ लाख रुपैयाको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ ।

झण्डै ८ करोड रुपैयाको लगानीमा निर्माण हुन लागेको उक्त बुद्धको मूर्ति सहितको पार्कको लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो । एक वर्षभित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको छ ।

पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने रुटमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटकहरु,भक्तजनहरु आउने उहाँले बताउनुभयो । यस स्थान बाट पूर्वको पाँचथर,ताप्लेजुङ,तेह्रथुम,धनकुटा,इलाम लगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया