चिसो भुइँमा परालकै भरमा विपन्न परिवार

उदयपुर / परालले छाएको सानो छाप्रो । परालले नै छाप्रो बारबेर गरिएको छ । चिसो भुइँमा परालकै डसना छ । त्यसमाथि पातलो सुकुल छ । छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको ओढ्ने सिरक छ । यही छाप्रोमा त्रियुगा नगरपालिका ३ ठाडीका मुसहरी बस्तीका बालबालिकाको दिनचार्य खेलेर र वृद्धवृद्धाहरुको दिनचार्य आगो तापेरै वित्ने गरेको छ ।

त्यस ठाउँका करिव १० घर परिवारहरुले शीतलहरको कष्ट सहिरहेको छ । जाडो छल्न उनीहरुले परालसँगै पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेकी छन् । झमना सदायले चिसो बढेपछि शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको बताए । चिसो बढेपछि अतिविपन्न बस्तीमा परालकै सिरक–डसना र तातोका लागि परालै बालेर जीवनयापन गर्नुपर्ने बाध्यता आइलागेको छ ।

ठाडीमा किनारमा सुकुमबासीका रुपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान र शीतलहरमा चिसोको कहर खेप्नुपरेको छ । ‘चिसो भुइँमा पराल ओछ्याएर डसना बनाएका छौं । ओढ्ने पुरानो तर नतात्ने कपडा छ,’ उनले भने, ‘गरिबलाई खान त पुग्दैन, कहाँबाट न्यानो लुगा लगाउनु, ओढ्नु ।’

सोही मुसहर बस्तीकी छेरु सदायको पीडा पनि उस्तै छ । ‘मजदुरी गरेर कमाएको दुई चार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने ?’ उनले भने, ‘सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै राहत कार्यक्रम ल्याएन ।’

उनका अनुसार अहिलेसम्म मुसहर बस्तीमा चिसो पीडितका लागि सरकारी, गैरसरकारी कुनै तहबाट पनि राहत पुगेको छैन । बजार क्षेत्रमा केही संघ संस्थाले दाउरा बाँडेपनि आफुहरुको तिर कुनै संघ संस्था नआईपुगेको छेरु सदा बताउँछन् । उनका अनुसार दाउरा वितरण अभियान यो विपन्न मुसहर बस्तीसम्म पुग्न सकेन ।

‘न त संघ संस्थाकै व्यक्तिले बाँडेका कम्बल हाम्रो बस्तीमा आए,’ छेरुको गुनासो छ । ‘ गैहरुनको मुसहर बस्तीमा कम्मबल बाँड्यो सुनेको छ तर हाम्रो तिर कसैले बाँडेन् ।’ साँच्चिकै पीडितलाई भन्दा पनि मन परेका व्यक्तिलाई कम्बल बाँड्ने गरिएको उनको आरोप छ ।

त्रियुगा नगरपालिकाले गरीब घरपरिवार पहिचान गरेको भए पनि यहाँ अति बिपन्न परिवारले कुनै सुविधा पाएका छैनन् । घरछेउमै पुगेका सिंहदरबारले पनि कुनै वास्ता गरेका छैनन् । ठाडीको मुसहर समुदाय जस्तै अन्य चौदण्डीगढी र बेलका नगरपालिकाका मुसहर समुदाय मात्र हैन विपन्न दलितहरुको पनि समस्या उस्तै छ । घर छेउमा अधिकारसहित आएको भनिएको सरकारले पनि केही नगरेको गुनासो बेलका नगरपालिका १ की माया सार्की बताउँछिन । उनले भनिन्, ‘ठुला बडालाई मात्रै स्थानीय सरकार आयो हामी जस्ता गरिव विपन्न परिबारको लागि खोई के आयो के आयो थाहै छैन् । हाम्रो दिनचार्य सँधै यस्तै हो । कम्तिमा जनताको जन जीविकामा पनि ध्यान दिनु पर्ने सरकार हामीलाई चाहिएको छ ।’

Loading…

तपाईको प्रतिक्रिया

Loading…