घरधुरी भन्दा बढीको लगत संकलन पछि राहत वितरण अन्यौलमा

इनरुवा / घरधुरी भन्दा बढीको लगत संकलन गरिएपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको राहत वितरण अन्यौलमा परेको छ । गाउँपालिकाले राहत वितरणको तयारी गर्दैगर्दा वडागत रुपमा तयार पारिएको विवरणका कारण राहत वितरणमा अन्यौलता बढाएको हो । ४१ हजार ९ सय ५० जनसंख्या रहेको भोक्राहा नरसिंह गाउँपालिकामा ७ हजार १ सय १९ घरधुरी रहेको छ ।

तर अचम्मको कुरो के भने, सित्तैमा पाइने भएपछि राहत सूचीमा नाम लेखाउनेको संख्या गाउँपालिकामा रहेको कुल घरधुरीको संख्या भन्दा बढी भेटिएको छ ।
वडा स्तरमा तयार पारिएको लगत सूचीका आधारमा गाउँपालिकाले राहत उपलब्ध गराउने हो भने झण्डै ८ हजार परिवारलाई राहत वितरण गर्नु पर्ने हुन्छ । जबकी गाउँपालिकाको तथ्याङक अनुसार जम्मा घरधुरी अर्थात घरमुलीको संख्या ७ हजार १ सय १९ मात्र छ ।

कोरोना राहतकालागि संकलन गरिएको तथ्याङकलाई हेर्ने हो भने गाउँपालिकामा रहेका सबै परिवार गरिव र विपन्न छन् । जो खान नपाएर सरकारी राहतको पखाईमा छन् । यही विषयले यतिबेला गाउँपालिकामा राहत वितरणको कार्य समेत अघि बढ्न सकेको छैन् । गाउँवासीले राहत नपाएको गुनासो रहिरहँदा कार्यालयले भने हचुवाको भरमा संकलन गरिएको विवरणका आधारमा राहत सामाग्री वितरण गर्न नसकिने स्पष्ट पारेको छ ।

कुल घरधुरी भन्दा बढी संख्यामा वडागत रुपमा राहतकालागि सिफारिस भएको पाइएपछि तत्कालकालागि राहत वितरणको प्रकृया अघि नबढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताए । घिमिरेका अनुसार विपन्न र गरिव तथा ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिनु पर्नेमा सबैजसोको नाम समावेश भएको पाइएकाले राहत वितरणको कार्य आफुले अघि बढाउन सक्ने अवस्थामा नरहेको उनले बताए ।

घिमिरेका अनुसार वडागत रुपमा आएको विपन्न र गरिव परिवारको सूची पत्याउनै नसकिने र आश्चर्यजनक छ । गाउँपालिकामा भएको कुल परिवार सँख्या भन्दा बढीको नाम समावेश भएर राहतको दावी गरिएकाले समेत विवरण झुटो रहेको घिमिरेको भनाई छ । उलने भने, “वडाबाट प्राप्त विवरणलाई हेर्ने हो भने गाउँपालिकामा रहेका सबै परिवारनै विपन्न र गरिब छन भन्ने देखाउँछ । जुन कुरा जोकोहीले पत्याउनै नसकिने र नितान्त झुटोे छ ।” उनले राहत वितरणको कार्य अघि बढाउन नसकेको विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएको बताए ।

उता गाउँपालिका प्रमुख महेन्द्र यादवले कही कतै सामान्य त्रुटी भएको हुन सक्ने भन्दै विपन्न परिवकारको नामावली संकलनको क्रम जारीनै रहेको बताएका छन् । उनले राहत विपन्न र गरिव परिवारको पहिचान गरी वितरण गरिने बताएका छन् ।

गाउँपालिकाका अनुसार राहत कोषमा ५० लाख छुट्याईएको छ । आवश्यक पर्दा अन्य रकम समेत जुटाउने सकिने बताएपनि वडास्तरबाट प्राप्त सूचीका आधारमा तत्काल भने राहत वितरण गर्न नसकिने कर्मचारीहरुले बताएका छन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…