‘गाँउ गाँउमा सि‌ंहदरवार भन्थे, इटहरीका मेयर द्धारिकलाल चौधरी घरमै आइपुगे

इटहरी / एउटै घरका सबैजना सन्तान अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ । इटहरी २ को लक्ष्मण तामाङ्गलाई उपमहानगर प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम उनको घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरे । लक्ष्मण तामाङ्गका चार जना सन्तान चारैजना अपाङ्ग छन । १४ देखि २९ वर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो बाहेक कोही पनि बोल्न समेत सक्दैनन् ।

उठेर हिँडन त परै जाओस्, बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ । तामाङ्ग परिवारमा परेको यो समस्या उनको मात्र होइन उनका साथमा उपमहानगरपालिका पनि रहेकाले जीवन निर्वाह अनुदान शीर्षकमा एक लाख रकम प्रदान गरिएको प्रमुख द्धारिकलाल चौधरीले बताए ।

चार जना सन्तानको यस्तो अवस्थामा उनीहरुको स्याहारको जटिल कार्यमा तल्लिन रहेकोमा प्रमुख चौधरीले परिवारको प्रशंसा गर्दै सद्भाव व्यक्त गरे । उपप्रमुख लक्ष्मी गौतमले यो परिवारलाई परेको समस्यामा सहयोग गर्न सबैसँग आग्रह गरेकी छन् । उनले ट्रस्ट वनाएर अघि बढ्दा राम्रो हुने सुझाव समेत दिएकी छन् । यसअघि उपप्रमुख गौतमले घरमै पुगेर चारैजनालाई अपाङ्गता परिचय पत्र रेडकार्ड दिएकी थिइन् ।

अहिले उनीहरुले मासिक ३ हजारका दरले भत्ता समेत पाउदै आएका छन । इटहरी सरकारको सहयोग प्रति आभार व्यक्त गर्दै उनीहरुका बुबा लक्ष्मण तामाङ्गले भने “गाँउ गाँउमा सिंहदरवार भन्थे, इटहरी सरकार घरमै आइपुग्यो खुशी लागेको छ ।” १४ देखि २९ वर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन्, बोल्न सक्दैनन्, जीउ लल्याकलुलुक छ उठेर बस्न सक्दैनन् । दिशा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ ।

नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ । बुबा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन । त्यसपछि बिस्तारै आँखा देख्न छाडिन, एक वर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो । केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन् । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उनलाई लागेको छ । इटहरी उपमहानगरका प्रमुख चौधरी, उपप्रमुख लक्ष्मी गौतम, वडाध्यक्ष हर्क मगरले तामाङ परिवारलाई सहयोगका लागि सबैमा आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…