कोशीे कटानको बालुवामा कागती र बयर फलाइने

इनरुवा / सुनसरीको कोशी कटान क्षेत्रमा कागती र बयर फलाइने भएको छ । २०६५ भाद्र २ गतेको सप्तकोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई गाउँपालिकाले सदुपयोगमा ल्याउने तयारी थालेको हो । कोशी कटान क्षेत्रको ३१ सय विगाह बालुवायुक्त क्षेत्रलाई गाउँपालिकाले मौसमी फसल उत्पादन जोनका रुपमा विस्तार गर्न लागेको हो । गाउँपालिकाले कोशी कटानको बाँझो र प्रयोज विहिन जमिनमा कागती र बयर फलाइने जनाएको छ ।

बालुवायुक्त जमिनलाई उब्जाउ योग्य बनाउँदै फसल उत्पादनमुखी कार्यक्रमलाई अघि बढाउन लागिएको गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले बताए । अन्सारीले पत्रकार सम्मेलनको आयोजना गरि उत्कृष्ठ किसानकालागि आर्कषक प्याकेजको व्यवस्था समेत गरिने बताएका छन् । किसानकालागि गाउँपालिकाले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै अनुदान जुटाउन समेत सहयोग पु¥याउने अध्यक्ष अन्सारीले प्रतिवद्धता जनाएका छन् ।

बाँझो र खाली जमिनलाई सदुपयोगमा ल्याउन लेवलिङ गर्ने काम समेत गरिएको बताउने गाउँपालिकाले बालुवामै उत्पादन सम्भव हुने फसलकालागि कृषि विज्ञहरुसँगको सल्लाह अनुशरण गरिने जनाएको छ । अध्यक्ष अन्सारीले कोशी कटान क्षेत्रको बालुवामा कागती, बयर र बदामको उब्जाउ सहज र आम्दानीको हिसाबले समेत उपयुक्त हुने हुँदा सोही खेतीमा जोड दिन लागिएको बताए । गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेको बालुवालाई उब्जाउ योग्य बनाउदै सो तर्फ किसानलाई आर्कषित गराउन आवश्यक पहल समेत थालिएको जनाएको छ । यद्यपी उसले स्रोत र साधनको अभावका कारण प्रदेश र संघीय सरकारको सहयोगको भने आवश्यक्ता औल्याएको छ ।

गाउँपालिकाले प्रयोग विहिन अवस्थामा रहेको सयौं विगाह जमिनलाई उब्जाउ योग्य बनाउदै फसलको उत्पादनमा जोड दिन सके उक्त कार्य कृषि क्षेत्रको हकमा प्रदेश एककालागि नमूना र उदाहरणीय कार्य हुने विश्वास लिएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…