कोशीटप्पुको संरक्षण र पर्यटन विकासका लागि तीन तह एक ठाउँमा

काठमान्डाैं / कोशीटप्पु वन्यजन्तु आरक्षण र यसका आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा लैजान सबै तयारी भइरहेको छ । ‘पर्यटकीय क्षेत्र कोशीटप्पुः पूर्वाधार विकास र कानूनी जटिलता’ विषयमा संवाद समूह मोरङले कोशीटप्पुमा आयोजना गरिएको संवादका क्रममा कोशीटप्पुको संरक्षण गर्दै पर्यटकीय विकासका लागि सबै एकमत भएका हुन् ।

स्थानीयवासी र वन्यजन्तुको द्वन्द्वका कारणले गर्दा कोशीटप्पुमा पर्यटनको विकास हुन सकेको छैन । त्यसको दिगो समाधानका लागि क्यानल (दोहोरो ढलान भएको बीचमा पानी बग्ने नहर जस्तै संरचना) निर्माण गरी जङ्गली जनावरलाई बाहिर आउने समस्याको अन्त्य गर्ने तथा भित्र जङ्गली जनावरका लागि घाँसको व्यवस्थापन गरी दिगो समाधान खोज्न पनि स्थानीय कोशी गाउँपालिका, कोशीटप्पु वन्यजन्तु आरक्ष र प्रदेश सरकार तयार भएका हुन् । कोशीटप्पुमा पर्यटक भित्र्याउनका लागि स्थानीयवासीको साथ चाहिने भएकाले स्थानीयवासीलाई साथमा लिन आरक्ष, गाउँपालिका र प्रदेश सरकारका बीचमा समन्वयको खाँचो रहेकाले तत्काल समन्वयको वातावण बनाउन पनि सबै एकमत भएका छन् । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियतले जङ्गली जनावरको व्यवस्थापनसँगै पर्यटनको विकास गरिनुपर्ने बताउनुभयो । उहाँले जनावरको व्यवस्थापन गर्नका लागि क्यानल बनाएर नियन्त्रण गर्ने र पर्यटन प्रवद्र्धनका लागि लगानीको वातावरणसमेत बनाउने स्पष्ट पार्नुभयो ।

पर्यटन व्यवसायी तथा होटल व्यवसायीसहित भएको संवादका क्रममा स्थानीयवासीलाई लक्षित गरी सचेतना तथा आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी आरक्ष क्षेत्रका बारेमा जानकारी र पर्यटन प्रवद्र्धन गरी लगानीकर्तालाई लगानीको वातावरण बनाउने बारेमा गाउँपालिका र प्रदेश सरकारले काम शुरु गर्ने बताइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जका रुपमा विकास गर्नका लागि स्थानीय पालिका र प्रदेश सरकारले छलफल र समन्वयको काम थाल्ने गाउँपालिकाले अग्रसरता लिने भएको छ । पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार र कोशी गाउँपालिकाले आरक्ष आसपासमा उद्यानको निर्माण गर्ने काम शुरु गरिसकेको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिनुभयो ।

पर्यटक ल्याउन र पर्यटकीय क्षेत्रका रुपमा कोशीटप्पुलाई विकास गर्ने विषय आइरहँदा पहिलो प्राथमिकता स्थानीयवासीको समस्या भएकाले उनीहरुको समस्या र उनीहरुको आयआर्जनको वातावरण बनाउनेतर्फ पनि ध्यान जानुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ । पर्यटकलाई घुमाउनका लागि पथप्रदर्शकको अभावलाई अन्त्य गर्नका लागि गाउँपालिकाले आरक्षलाई सहयोग गर्ने र आरक्षले पथप्रदर्शकसम्बन्धी तालीम दिने समेत सहमति भएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले तालीम दिलाउने काम आरक्ष प्रशासनको भएको बताउनुभयो । कोशीटप्पु आरक्ष क्षेत्र आसपासको मध्यवर्ती क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने भए पनि आरक्ष क्षेत्रभित्र भने गतिविधि गर्न नपाइने आरक्षका प्रमुख संरक्षण अधिकृत चौधरीको भनाइ छ । मध्यवर्ती क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्यमा कोशी गाउँपालिकाले लगानीको वातावरण बनाउने तथा प्रदेश सरकार र स्थानीय पालिकाले पूर्वाधार निर्माणका लागि काम शुरु गर्ने पनि छलफलबाट निष्कर्ष निस्किएको छ ।

संवादकै क्रममा केही वर्ष अगाडि लगातार तीन वर्षसम्म हुँदै आएको चरा महोत्सवलाई निरन्तरता दिने बारेमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएन । हरेक वर्ष फेब्रुअरी २ सिमसार दिवसलाई मनाउनका लागि आरक्षको प्रस्तावमा गाउँपालिका र प्रदेश सरकारको सहयोगमा दिवस मनाउने बारेमा भने सहमति भएको विराटनगरका होटल तथा पर्यटन व्यवसायी भविश श्रेष्ठले जानकारी दिनुभयो । संवादमा सहभागी हुनका लागि पुग्नुभएकी प्रदेश १ का प्रदेशसभा सदस्य साबित्रा रेग्मीले कोशीटप्पुलाई चितवन राष्ट्रिय निकुञ्जभन्दा धेरै माथि लैजान सकिने स्पष्ट पार्नुभयो । उहाँले कोशीटप्पु जतिको सम्भावना बोकेको क्षेत्र प्रदेश १ मा कमै रहेको स्पष्ट पार्दै कानूनी जटिलता भए गाँठो फुकाएर तत्काल पर्यटक भित्र्याउने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० प्रदेश समितिका सहसंयोजक राजन श्रेष्ठ, होटल सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली, होटल व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष मणीन्द्र कटुवाललगायतले कोशीटप्पुमा लगानी गर्नका लागि लगानीकर्ताहरु तयारी अवस्थामा रहेको भए पनि स्थानीय पालिका, प्रदेश सरकार र सङ्घीय सरकारले वातावरण बनाउन नसकेको बताउनुभयो ।

विराटनगर ट्राभल्स एजेन्ट सङ्घका अध्यक्ष फणीन्द्र अधिकारी तथा उपाध्यक्ष ज्ञानु नेपालले अहिलेको अवस्थामा कोशीटप्पुका लागि पर्यटक घटेकाले पर्यटक बढाउन सबै लाग्नुपर्ने जोड दिनुभयो । धरानका पर्यटन व्यवसायी वासुदेव बरालले जङ्गल सफारीको प्रशस्त सम्भावना भए पनि आरक्षले त्यस्ता काममा अप्ठेरो पार्ने काम गरेको आरोप लगाउनुभयो । कोशीटप्पुमा आउने पर्यटकलाई के देखाउने र केका लागि ल्याउने भन्ने स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्नेसमेत व्यवसायीको माग छ । कोशीटप्पुमा भएको अर्ना चितवन निकुञ्जमा पठाउँदा कोशीटप्पुको गरिमा सरकारले नै नामेट पारेको समेत आरोप उहाँहरुको छ । कोशीटप्पु अर्नाको एकमात्र बासस्थान हो भनेर पहिचान बनाएकामा सरकारले चितवनमा अर्ना पठाएको तर त्यहाँको गैँडा र बाघ कोशीटप्पुमा नपठाएको स्थानीयवासीको आरोप छ । स्थानीयवासीले अर्ना नपठाउनका लागि अनुरोध गरेको भए पनि त्यो सरकारले नसुनेको स्थानीयवासी बताउँछन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…