कार्यालय छिर्दा सेनिटाइजर अनिवार्य !

इनरुवा / नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग अनिवार्य गरेको छ । इनरुवा नगरपालिकाको कार्यालय पुग्ने जो कोहीले पहिला सेनिटाइजर प्रयोग गरी हात सफा गर्नु पर्ने छ । त्यसपछि मात्र उनीहरुले कार्यालय प्रवेश गर्न पाउने छन् ।

कार्यालयको गेटमा खटिएका नगर प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरुलाई सेनिटाइजरले हात सफा गर्न आग्रह गर्छन् । त्यसपछि मात्र कार्यालय प्रवेशको इजाजत दिने गरिएको छ । व्यक्तिगत सरसफाईमा ध्यान केन्द्रीत गराउनुको साथै कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको नगर प्रमुख राजन मेहताले बताए । मेहताले नगरमा कोरोना सम्वन्धि सचेतना र आवश्यक अन्य तयारी सहितका काम समेत थालिएको बताए ।

उनले पूर्व तयारी स्वरुप सचेतना र सर्तकताका उपायहरु अपनाउन थालिएको बताए । मेहताले स्वास्थ्य संस्थाहरुका लागि आवश्यक सामाग्रीहरु समेतको बन्दोवस्ती मिलाई सकिएको जानकारी दिए । उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए ।

नगरपालिकाको कार्यालयले आवश्यकता अनुसार हेल्प डेस्क समेतको प्रवन्ध मिलाउने जनाएको छ । नगरपालिकाले कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका साथै सचेत र सजक रहन नगरवासीमा आग्रह समेत गरेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…