कला संस्कृति संरक्षणमा नेवारी युवा

विराटनगर / विराटनगर – ४ कञ्चनबारीका २५ वर्षिय इश्वरी श्रेष्ठ बोलावट भएको कार्यक्रममा पुग्दा नेवारी पहिरनमा सजिएर आफ्नो जातिय कला सँस्कृति लिएर पुग्ने गरेका छन् । धिमे बाजादेखि लाखे नृत्य पनि गर्न जानेका उनी सधै कार्यक्रममा आफ्नो जातिका कला संस्कृति देखाउने गरेका हुन् ।

‘यसरी जातिय साँस्कृतिको कला देखाउन सुरु गरेको चार वर्ष पुरा भयो,’ नेवारी जातिय पहिरमा सजिएका इश्वरीले भने, ‘अग्रजहरूले प्रशिक्षण दिएपछि अहिले धिमे बाजादेखि लाखे नृत्य पनि राम्रोसँग गर्नसक्ने भएको छु ।’ कुनै कार्यक्रम वा नेवार सामुदायहरूले निकाल्ने जात्रामा पनि आफने कला साँस्कृति पस्किने गरेको उनले सुनाए । ‘पुस्ता हस्तान्तरण हुन सके मात्र आफ्नो धर्म, संस्कृतिको संरक्षण गर्न सकिन्छ,’ उनले भने, ‘हामीले सिकेको कला संस्कृति हामी भन्दा पछिका पिढीलाई पनि सिकाउँदै लैजानु पर्दछ । यसो गर्दा मात्र आफनो संस्कृतिलाई जोगाउन सकिन्छ ।’ उनीहरू १५ देखि २० जनाको समूह बनाएर आफ्नो कला संस्कृति देखाउन बोलावट भएको विभिन्न कार्यक्रम, जात्रा जस्तामा सरिक हुने गरेका छन् । ‘बोलावट भएको कार्यक्रममा नेवारी संस्कृति देखाउने एउटा कलाकारको टोली रहेको छ,’ उने भने, ‘समूह बनाएको कलाकारको टोलीले लोख नाच, धिमे बाजा, डण्टी नृत्य प्रर्दशन गर्दछौं ।’

कला साँस्कृतिको संरक्षणमा अहिले समूह बनाएर विराटनगरका नेवार सामुदायका युवाहरू लागि परेका छन् । विराटनगर ४ स्थित विराट नेवा पुचः मा आवद्ध भएका युवाहरूले कला संस्कृतिको संरक्षण गर्दै अगाडी बढेका छन् । यहाँ आवद्ध भएका धेरै युवाहरूलाई धिमे बाजा, लाखे नाच्नदेखि बासुरी र गीतको तालमा लठीलाई मिलाएर नाच्ने (डन्टी नृत्य) गर्दछन् । विराटनगरका २७ वर्षिय अमुलदीप तम्राकारले चार वर्षदेखि लाखे नृत्य र धिमे बाजा बजाउँदै आएको बताए । ‘बसैभन्दा बढी चाडपर्वको बेलामा आफ्नो कला संस्कृति देखाउने गरेका छौं,’ उने भने, ‘विराट नेवा पुचः मा हाम्रो युवाको समूह छ । यहाँ हामी जस्तै अन्य युवाहरूले आफ्नो कला संस्कृति देखाउँदै आएका छौं ।’ एक सय भन्दा बढी आवद्ध भएको उक्त संस्थामा दुई दर्जन बढी युवा कलाकारहरू रहेको विराट नेवा पुचः का संस्कृति कार्यक्रम संयोजक पदम श्रेष्ठले बताए । ‘युवालाई प्रशिक्षण दिएपछि अहिले हामीले आफ्नो जातिय कला संस्कृतिमा नृत्य गर्ने देखि धिमे बाजा बजाउने कलाकार उत्पादन गर्दै आएका छौं,’ श्रेष्ठले भने ।

नेवार समुदायका भाषा, संस्कृति संरक्षण गरी पर्यटनमा समेत टेवा पुर्‍याउने लक्ष्य रहेको विराट नेवा पुचः का अध्यक्ष जय कुमार श्रेष्ठले बताए । ‘कुनै स्थान तथा क्षेत्रको पहिचान भनेको त्यस ठाउँको संस्कृति, त्यहाँ बसोवास गर्ने समुदायको परम्परा, संस्कार भएकाले यी हाम्रा अमूल्य निधी हुन’, उनले भने, ‘भावी सन्ततिका लागि परम्परागत भाषा, संस्कृतिको महत्व बुझाउनु पर्दछ, त्यसैले आजैदेखि हामी सबै आफ्नो ठाउँबाट संरक्षण अभियानमा लाग्नु पर्छ ।

तपाईको प्रतिक्रिया

Loading…

Loading…