उदयपुरमा सेनाले रोपेका २० हजार विरुवा संरक्षण अभावमा मरे

उदयपुर / उदयपुरका वन क्षेत्रमा बर्सेनि सरकारी तथा गैरसरकारी कार्यालयले करोडौं बजेटमा विरुवा रोप्छन् । तर, संरक्षण र रेखदेख नहुँदा कागजमै सीमिति हुने गरेको छ । मोटो रकम खर्चेर भएका वृक्षारोपण कमै मात्र वनमा परिणत भएका उदहाहरणहरू छन् । नेपाली सेनाद्वारा उदयपुरको चुरे क्षेत्रमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा २०७४ साउन ११ गते त्रियुगा नगरपालिका ५ स्थित बुर्जाकान्ला र सन्यासी सामुदायिक वन क्षेत्रमा रोपेको २० हजार विरुवा मरेका हुन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापा त्यस बखत कामु प्रधानसेनापति हुँदा २० हेक्टर क्षेत्रफलमा रोपेको २० हजार विरुवाहरू अहिले भेटिँदैन । सेनाले रोपेको बाँसका विरुवाहरु अहिले कहि कत्तै भएपनि फोटोमा मात्रै सीमित छ । वृक्षारोपण गरेपछि खाली डाँडा हरियालीमा परिणत हुने आश थियो । तर, विरुवा रोपेपछि गोडमेल, स्याहार सुसार र मलजल नभएकाले विरुवा मरेको स्थानीय ढक बहादुर भुजेलले बताए । ‘क्याम्प हालेर रोपेका थिए, एक पटक हेर्न आए,’ उनले भने, ‘रेखदेख र सिँचाइ नगर्दा सबै विरुवा मरे ।’ वृक्षरोपण गरिसकेपछि सामुदायिक वन समूह, नेपाली सेना तथा जिल्ला वन कार्यालयबाट उचित संरक्षण, गोडमेल, स्याहारसुसार र मलजल नहुनुको साथै कुन बाँस ल्याएर रोपेकोले मरेको अर्का स्थानीय नर बहादुर भुजेलको आरोप छ ।

अनि एक दिन वाताबरण दिवश भनेर विरुवा रोपेर सरकारी निकाय रोप्छ तर, वर्षौसम्म फर्केर नहेर्दा विरुवाहरु मरुभूमिमा परिणत भैसकेको हुन्छ । विरुवाको छनौटमा कमजोरी र गोडमेल नभएकाले विरुवा मरेको बुर्जाकान्ला सामुदायिक वन समूहका अध्यक्ष सूर्यबहादुर बस्नेत बताए । यस्तै शुक्रबार एक समारोहका विच उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापाको उपस्तिथीमा ६ हजार तीन समय विरुवा वृक्षारोपण गरिएको छ ।

नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तर्गत रणसाद्र्रुल गणको आयोजना तथा रौतामाई गाउँपालिकासंगको समन्वयमा वृक्षारोपणा गरिएको हो । सेनाले सेक्टर ए अन्तर्गत एक हजार तेजपात, सेक्टर बि अन्तर्गत ३ सय नास्पती, सेक्टर सि अन्तर्गत ब्लक १ मा टिमुर ५ सय, ब्लक २ मा ५०० टिमुर, ब्लक ३ मा टिमुर एक हजार, ब्लब ४ मा टिमुर एक हजार, ब्लक ५ मा एक हजार तेजपात र ब्लक ६ मा एक हजार तेजपात रोपिएको रणसार्दुल गण बोक्सेका सेनानी प्रकास घिमिरेले जानकारी दिए । विरुवा रोपण गरिएको क्षेत्रमा चरिचरण बन्द गर्ने गरी रौतामाई गाउँपालिकालाई हस्ताणतरन गरिएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…