इनरुवामा क्वारेन्टाइन स्थलको क्षमता बढाइदै

इनरुवा / इनरुवा नगरपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थलको संख्या बढाउदै लगेको छ । सुरुवाती अवस्थाबाटै नयाँ बसपार्कको भवनमा १० वेडको क्वारेन्इन संचालनमा ल्याएको इनरुवा नगरपालिकाले सो स्थानमा २० वेड थपेको छ । त्यो सँगै इनरुवा नगरपालिकाले भारतबाट भित्रिनेको बढ्दो संख्यालाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप थप ३ सय वेड क्षमताको क्वारेन्टाइन संचालनको तयारी थालेको छ ।


जसमध्ये भगवती माबि इनरुवाको भवनलाई १ सय वेड क्षमताको क्वारेन्टाइन स्थलका रुपमा प्रयोग थालि सकिएको छ । इनरुवा नगरपालिकाले शैक्षिक तालिम केन्द्र र सहकारी डिभिजन कार्यालयको भवनलाई क्वारेन्टाइन स्थलका रुपमा संचालनमा ल्याउन लागेको छ । डिभिजनको भवनमा ५० र शैक्षिक तालिम केन्द्रमा १ सय ५० वेड प्रयोगमा ल्याउने गरी नगरपालिकाले तयारी अघि बढाएको छ ।

छिमेकी मुलुक भारतबाट घर फर्किनेको संख्या बढ्दो क्रममा रहेकाले समेत क्वारेन्टाइन स्थलको क्षमता बढाउनु आवश्यक देखिएको नगरपालिकाको ठहर छ । बाहिरबाट फर्किने नगरवासीहरुको सवालमा उचित व्यवस्थापनकालागि पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थल थप्ने काम भैरहेको नगर प्रमुख राजन मेहताले बताए । आवश्यकता परेको खण्डमा थप वेड क्षमताको क्वारेन्टाइन स्थल समेत संचालनमा ल्याउन सकिने गरी बन्दोवस्ती मिलाइएको समेत उनले जानकारी दिए ।

मेहताका अनुसार सुरक्षाको उचित बन्दोवस्ती सहित आवश्यक स्रोत साधन जुटाएर क्वारेन्टाइन संचालनमा ल्याइएको छ । क्वारेन्टाइन स्थलमा बस्नेहरुका लागि खानपिन सहितको बसोबासको व्यवस्था नगरपालिकाको कार्यालयले मिलाउँदै आएको मेहताले बताए । जसलाई नयाँ क्वारेन्टाइन स्थलमा समेत निरन्तरता दिइने छ ।

मेहताले नगरवासीको हकमा कुनैपनि कुरोको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे । उनले विषय परिस्थितीमा सबैको साथ र सहयोगको खाँचो रहेको भन्दै झुटो प्रचारबाजी र अफवाह फैलाउने काम भने सोभनीय नहुने प्रतिकृया जनाए । मेहताका अनुसार इनरुवाको सवालमा क्वारेन्टाइन व्यवस्थापन सँगैका अन्य काममा सुनसरी प्रहरीको महत्वपूर्ण साथ र सहयोग प्राप्त भएको छ ।

नगर प्रमुख मेहताले संक्रमणको दर बढ्दो क्रममा रहेकाले स्वयं नगरवासी समेत थप सजक हुन जरुरी रहेको बताए । उनले लक डाउनको उल्लंघन नगर्न नगरवासी समक्ष आग्रह समेत गरे । सुनसरीका प्रहरी प्रमुख कमल थापाले समेत क्वारेन्टाइन व्यवस्थापन र संचालन सँगै सुरक्षाको बन्दोवस्ती लगायतका विषयमा नगरपालिकाको कार्यालय विशेष गरी नगर प्रमुख सँगको समन्वयमा काम भैरहेको बताए ।

उनले इनरुवाको सम्वन्धमा थप केही स्थानको समेत छनौट गरिएको बताए । जसलाई आवश्यक्ताका आधारमा क्वारेन्टाइन स्थलका रुपमा प्रयोगमा ल्याउन सकिने छ । प्रहरी उपरीक्षक थापाले भने, “जिल्ला भरका स्थानीय तहले क्वारेन्टाइन स्थलको क्षमता बढाई रहेका छन् । जुन निकैनै आवश्यक पनि देखिएको छ ।

धेरै स्थानमा होल्डिङ एरिया समेत संचालनमा आएका छन् । जहाँ भारत सहित विभिन्न स्थानबाट आएकाहरुलाई होल्ड गरी सम्वन्धित स्थानीय तहमा रहेका क्वारेन्टाइन स्थलमा पठाउने काम भैरहेको छ ।” इनरुवाको हकमा बस पार्कमा २५ जना क्वारेन्टाइनमा रहेका छन् भने भगवती माविमा विहान सम्म १० जनालाई राखिएकोमा थप ७० जना साँझसम्म थपिने क्रममा छन् ।

तपाईको प्रतिक्रिया

Loading…