सृष्टि संजिवनीको थप सेवा योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनको शुभारम्भ

इटहरी । इटहरीमा विगत ७ बर्षदेखि आयुर्वेद उपचारमा सेवा प्रदान गर्दै आएको सृष्टि संजिवनी आयुर्वेद पोलिक्लिनिक प्रालिले आइतवारबाट आफ्नो थप सेवा विस्तार गरेको छ । यो प्रालिले इटहरी ८ स्थित वी.पी. चौंक कस्तुरी कलेज रोड पश्चिममा थप सेवाका रुपमा योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनको शुभारम्भ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी राजेश गिरिले एक बिषेश कार्यक्रमका बीच योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनको उद्घाटन गरेका छन् । उद्घाटन पछि आफ्नो भनाई राख्दै निमित्त प्रमुख जिल्ला अधिकारी गिरीले योगा विनाको जीवन अपूर्ण हुने आफुले प्रत्यक्ष महसुस गरेको जनाउदै यसका संचालक सुरेश विकासले इटहरीका लागि ठूलो लगानी गरेको बताए । उनले मदिरा सहितको ठूलो पाटीको आयोजना गरेको भए धेरैजनाको उपस्थित रहने बताउदै नीजि क्षेत्रबाट यतिठूलो लगानी गरेर स्वर्ग जाने बाटो खुलाईदिनु चानचुने कुरा नभएको बताए । उनले सुरेशको योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनका लागि आवश्यक सहयोग गर्न आग्रह पनि गरे । 

कार्यक्रमका बिषेश अतिथि उद्योग वाणिज्य संघ इटहरीका कार्यवहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्टले योगा सेन्टर तथा आर्गेनिक क्यान्टिन संचालनका लागि वाणिज्य संघको तर्फबाट गर्नु पर्ने सहयोग शर्तविना गर्ने बचन दिए । कार्यक्रमका अतिथि अधिवक्ता सुमनचन्द्र कार्कीले योगा सेन्टर तथा आर्गेनिक क्यान्टिन प्रगतिको कामना गर्दै हरेक क्षेत्रबाट संचालक सुरेश विकासलाई सहयोग गर्नु पर्ने बताए । इटहरी जस्तो पूर्वकै केन्द्र विन्दुका रुपमा विकास भईरहेको स्थानमा योगा सेन्टर तथा आर्गेनिक क्यान्टिन संचालनमा ल्याएर नयाँ आयम थप्ने काम सुरेशले गरेको उनले बताए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनका संचालक मध्येका सुरेश विकासले रोग लाग्नुभन्दा पनि लाग्न नदिनका लागि केही गरौं भन्ने सोचाईका साथ योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनको शुभारम्भ गरेको बताए । उनले योग शिक्षामै डिग्री गरेका योग गुरुले दैनिक योगा गराउनुका साथै स्वाथ्यलाई फाइदा पुग्ने आर्गेनिक परिकारका साथै जुसहरु बिक्री गर्ने बताए । त्यती मात्रै नभई आयुर्वेद अनुसार बिभिन्न रोगका विरामीहरुलाई एमडी डाक्टरहरुको निगरानीमा उपचार पनि गर्ने बताए । कार्यक्रम योगाचार्य तथा प्रवचन प्रवक्ता उमाशंकर जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन रविन गौतमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...