सरकारले ल्याएकाे नितिका कारण व्यवसाय संकटमा पर्ने भन्दै व्यवसायी आन्दोलित

राजविराज / सरकारले १ साउन देखि लागु हुने किसिमले ल्याएको नयाँ नितिका कारण उद्योग व्यवसायी संकटमा पर्ने भन्दै सप्तरीका उद्योगी एवं व्यवसायीहरु आन्दोलित भएका छन् ।  आईतबार जिल्लाभरका उद्योग र पसल बन्द गरी सदरमुकाम राजविराजमा भेला भएका उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गर्दै सरकारले सो निर्णय फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

स्थानिय उद्योग बाणिज्य संघको सभाकक्षबाट निस्केको विरोध ¥यालीका सहभागीहरुले, ‘ढुवानी र खाद्यानमा लगाईएको भ्याट खारेज गर, अव्यवहारिक सामाजिक सुरक्षाकोष खारेज गर, डिजेल खरिदमा तिरेको भ्याट रकम क्रेडिट दिने नियमलाई निरन्तरता दे, स्थानिय प्रशासनद्वारा उद्योगी व्यवसायी माथि हुने गरेको ज्यादति बन्द गर लगायतका नाराबाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

यहाँका उद्योगी व्यवसायीहरुले गत १ साउनमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत उद्योगी व्यवसायीको पेशागत हकहित र सुरक्षाका लागी विभिन्न ६ बुँदे माग राखी अर्थ मन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई आन्दोलनमा उत्रिनु परेको उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले बताए ।

ढुवानी तथा खाद्यानमा लगाएको भ्याट अव्यवहारिक भएकोले खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा योजना लागु गर्दा व्यवसायीलाई अत्याधिक व्यभार बढनुका साथै श्रमिकसँग समन्वय गरी व्यवसायी संचालन गर्न कठिन हुने भएकाले सो नियम खारेज गर्नुपर्ने, उद्योग प्रतिष्ठानमा उत्पादन कार्यमा प्रयोग भएको डिजल (ईन्धन) मा तिरेको भ्याद मिलान गर्न पाउने व्यवस्था यथावत राख्नुपर्ने, बैंकबाट लगाईएको चर्को ब्याज तथा बिमा कम्पनीहरुबाट भएको अघोषित सिन्डिकेट प्रथालाई सरकारले हस्तक्षेप गरी उद्योगी व्यवसायीको हितका लागी लगानी गर्न सक्ने बातावरण तयार गर्न यहाँका उद्योगी व्यवसायीहरुले माग गरेका छन् । सरकारले उद्योगी व्यवसायीको जायज मागलाई सुनुवाई नगरे चरणबद्घ आन्दोलन कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने पनि उनीहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…