सगरमाथा आरोहणप्रति बढ्दो आकर्षण

काठमाडौँ  । सगरमाथाको चुचुरोमा मौसम र आरोही समूहको तालमेल थिएन, तैपनि आरोहीको भीड उत्तिकै थियो । वसन्त ऋतुको यो यामसँगै बा¥ह पटक सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा केही हतास भए, जतिखेर उनी क्याम्प ३ बाट ‘समिट’ का लागि अघि बढ्दै थिए । मे २३ तारिखका दिन क्याम्प ३ बाट माथि वेगले हावा चलेको थियो ।

क्याम्पमा बढी हावा चल्दा पाल टाँग्न समस्या हुन्छ । अक्सिजन लिन पनि गा¥हो हुन्छ । हिउँ उडाएर भिजाउने र त्यसले हातखुट्टा चाँडो खाने गर्छ । तर पनि प्रतिकूल मौसमको पर्वाह नगरी साहसी आरोही शेर्पा शिखर चुम्न चुचुरोतर्फ लागे । “यो पटक भीड थियो तर, अघिल्लो जस्तो एकै पटक चढ्नेहरु थिएनन्, त्यसैले आरोहण राम्रो भयो, बाटो खोल्न ढिलो भएकाले केही असहज भयो, आरोहणका क्रममा फेरबदल भैरहने मौसम र ‘टीम’ को बेमेलले केही समस्या भने भएको थियो”– आफ्नो अनुभव सुनाउँदै आरोही शेर्पाले भने ।

मौसम र भूबनोट प्रतिकूल हुँदाहुँदै पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको प्रकृति प्रेमीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार यो वर्षको वसन्त ऋतुमा स्वदेशी तथा विदेशी गरी ४४९ जनाले सगरमाथा आरोहण गरेका छन् । यो वर्ष कामी रिता शेर्पाले सगरमाथाको २१ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए । अघिल्लो वर्ष वसन्त ऋतुमा चार सय ५१ जनाले सगरमाथाको आरोहण गरेका थिए ।

सगरमाथा आरोहणको इतिहासमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् । आरोहणका लागि सगरमाथामा भीड लागे पनि मौसमले साथ नदिँदा केही आरोही खिन्न हुँदै फर्किए । यसपटक सगरमाथासहितका हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गरी ८४० जनाले अनुमति लिएकामा ६३५ जनाले सफल आरोहण गरेका छन् । यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी ४२ वटा आरोहण दलले सगरमाथा आरोहण अनुमति लिएका छन् । यसअघि सन् २०१३ मा करिव पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए ।

नेपाल पर्वतारोहण सङ्घ ९एनएमए० का अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथा आरोहणका लागि यो वर्ष धेरै आरोही आएको भएपनि मौसमले साथ नदिँदा थोरै आरोही सगरमाथाको चुचुरो नपुगी फर्कन बाध्य भएको बताउनुभयो ।  “यो वर्षको वसन्त ऋतु अनौठो भयो, मौसमी सूचना अनुसार हावा चल्ने, चिसो हुने भनेको दिन मौसम राम्रो भइदिने तर हावा चल्दैन, चिसो हुँदैन भनेको दिन चाहिँ वेगले हावा चल्ने हिउँ पर्ने भयो, यसले गर्दा कतिपय आरोही फिर्ता आउनुप¥यो” – उहाँले भन्नुभयो ।  सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो । सन् २०१६ र २०१७ मा सगरमाथा चढ्नेहरुका लागि निकै उत्साहपूर्ण रह्यो ।

सगरमाथा आरोहणका लागि विदेशीका लागि ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ सलामी दस्तुर लाग्छ । नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् । भूगर्भविद् डा हर्क गुरुङको अध्ययन प्रतिवेदन अनुसार पाँच हजार ८०० मिटरभन्दा अग्ला १७ हजार हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमालको आरोहण खोल्न बाँकी छ ।
सगरमाथाको चुचुरोमा पुग्दा मौसम सफा छ भने नीलो आकाश र सेताम्य हिमालको प्राकृतिक सुन्दर नियाल्न सकिन्छ । मौसम बिग्रँदा त्यस्तो सौन्दर्यको मज्जा लिन सकिँदैन । त्यसैले ज्यान नै जोखिममा राखेर सगरमाथाको चुचुरोमा पुग्ने अभिलाषा आरोहीले बोकेको हुन्छ ।
तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेके । त्यसयता ६४ वर्षको अवधिमा करिब आठ हजार पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करिब २८६ आरोहीले ज्यान गुमाएको तथ्याङ्क छ । यो वर्ष छ जना आरोहीले ज्यान गुमाए । अघिल्लो वर्ष पनि छ जनै आरोहीको निधन भएको थियो । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठवटा छन् ।

दोलखा गौरीशङ्करका २८ वर्षीय आरोही फुर्वाले यो वर्षको वसन्त ऋतुमा तीन दिनमा दुईपटक सगरमाथा आरोहण गरे । उनले सन् २००८ मा पनि तीन दिनमा दुई पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए । सगरमाथामा बढ्दै गएको फोहर व्यवस्थापन हुन नसक्दा र अनधिकृत आरोहण बढ्दा यसको साख खस्कने हो कि भन्ने चिन्ता उब्जिएको छ ।  आरोहणका लागि प्रत्येक समूहमा सरकारले खटाएको सम्पर्क अधिकृत हुन्छ, तर उनीहरु वेस क्याम्पसम्म पनि पुग्दैनन् । यसले गर्दा अनधिकृत रुपमा आरोहण, पदयात्रा र भिडियो खिच्न जानेहरुमाथि निगरानी हुन सकेको छैन ।

सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले सगरमाथा विश्वकै सम्पत्ति भएकाले यसको गरिमालाई जोगाई आरोहणलाई गुणस्तरयुक्त बनाउन उपयुक्त सरकारी नीतिको तर्जुमा आवश्यक भएको बताउनुहुन्छ । “अनुभवी आरोहीलाई मात्र चढ्न दिनुप¥यो, सगरमाथा आरोहणलाई ‘स्पेसलाइज्ड’ गर्नुपर्छ, पैसाको लोभमा सगरमाथालाई सस्तो बनाउनु भएन,” आरोही शेर्पाले भन्नुभयो – “सम्बन्धित निकायले त्यहाँ बढेको भीड र फोहरको उचित व्यवस्थापन गर्नुपर्छ ।

एनएमएका अध्यक्ष शेर्पाले पनि सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन कडा अनुगमन र समन्वय आवश्यक भएको बताउनुहुन्छ ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई समग्रमा यो वर्षको आरोहण उत्साहजनक रहेको बताउनुहुन्छ । आरोहणलाई व्यवस्थित बनाउन आरोही, पर्यटक पथप्रदर्शक, सरकारी सम्पर्क अधिकृत र आरोहण एजेन्सीलाई जिम्मेवार बनाइनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
सम्पर्क अधिकृतबारे धेरै गुनासा विभागमा आएको महानिर्देशक भट्टराई स्वीकार्नुहुन्छ र भन्नुहुन्छ – “यो समस्याको समाधान खोज्न विभाग लागिपरेको छ ।” रासस

तपाईको प्रतिक्रिया