व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन : मन्त्री महासेठ

काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उहाँले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताउनुभयो । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्नुहुँदै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गर्नुभयो ।

“विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भन्नुभयो । उहाँले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारीे दिनुभयो ।”

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको बताउनुभयो । अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताउनुभयो । महासङ्घका उपाध्यक्ष आङदोर्जी लामा(एडी) ले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभयो । महासङ्घका महासचिव रोशन दाहालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास हुने बताउनुभयो ।

उपमहासचिव टङ्कप्रसाद चौंलागाईले निर्माण दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा मन्त्री महासेठले महासङ्घको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गर्नुभयो । प्रभातफेरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासङ्घको सचिवलाय पुगेर टुङ्गिएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया