विराटनगर महानगरले ल्यायो ५ अर्ब १२ करोडको बजेट

विराटनगर / विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार पाँच सय रुपैयाँ बढीको बजेट ल्याएको छ । विराटनगरमा मंगलबार आयोजित महानगरको चौथो नगर सभामा ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँ बराबरको बजेट मेयर भीम पराजुलीले सार्वजनिक गरेका हुन् । प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको उपस्थितिमा आयोजित कार्यक्रममा उल्लेखित बजेटको स्रोतका रुपमा महानगरपालिकाको आन्तरिक स्रोतबाट ५९ करोड ९८ लख १५ हजार, राजस्व बाँडफाँडबाट ७२ करोड ५९ लाख ४३ हजार ५ सय, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ४७ करोड ८४ लाख ७० हजार रहेको खुलाइएको छ ।

त्यस्तै संघीय सरकार सःशर्त अनुमान विषयगत कार्यालयतर्फ ५८ करोड ८९ लाख, नेपाल सरकार समपूरक र विशेष अनुदान १२ करोड ५० लाख, संघीय सरकार सःशर्त अनुदान ३९ करोड ५० लाख, वैदेशिक र अन्य संघसंस्थाबाट अनुदान २ करोड ३२ लाख ४० हजार, जनसहभागिताबाट ४ करोड ३५ लाख ४४ हजार, नगर विकास कोष ऋण सहयोग ११ करोड ५० लाख रहेको मेयर पराजुलीले जानकारी दिए । महानगरले सार्वजनिक गरेको बजेटमा आन्तरिक आय वृद्धिबाट २० करोडसमेत गरी ३ अर्ब २९ करोड ४९ लाख १२ हजार ५ सय आय हुने जनाइएको छ ।

त्यसैगरि, प्रशासनिक खर्चतर्फ ६४ करोड ९२ लाख ७ हजार विनियोजन गरिएको छ । प्रदेशको राजधानीको संरचनामा प्राथमिकतामा राखेर विनियोजन गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार निर्माणमा २ अर्ब ५ करोड ३९ लाख विनियोजन गरिएको छ । जुन कूल बजेटको ६२.३४ प्रतिशत हुन आउँछ । वातावरण तथा सरसफाई, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, सरकारी व्यवस्थाप, पशु स्वास्थ्य व्यवस्थापन तथा कृषि तथा पशुपंक्षी कार्यक्रमका लागि ११ करोड ८३ लाख ३८ हजार विनियोजन गरिएको मेयर पराजुलीले बताए ।
शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य कार्यक्रमका लागि १२ करोड ९५ हजार ५ सय र सामाजिक विकास, महिला तथा बालबालिका कार्यक्रमका लागि ३४ करोड ३८७ लाख ८० हजार विनियोजन गरिएको छ ।

कार्यक्रममा उप–मेयर इन्दिरा कार्कीले प्रदेशले विराटनगरलाई राजधानी तोके पनि प्रशासनिक कार्यालय रहने वा नरहने अझै अन्योल रहेको बताएकी थिइन् । विराटनगर पूर्ण रुपमा राजधानी बनाइनु पर्नेमा जोड दिएकी उपमेयर कार्कीले अझै पनि संघ तथा प्रदेशले महानगरलाई सोचे अनुसारको बजेट उपलब्ध गराउन नसकेको आरोप लगाइन् । उनले भनिन्, ‘महानगरले सीमित श्रोत र साधनबाट सबै क्षेत्रलाई समेट्न प्रयास गरेका छौ ।’

तपाईको प्रतिक्रिया

Loading…