लगानी कोषको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न जोड

काठमाडौँ / नागरिक लगानी कोषको खुद कोष गत पुस मसान्तसम्म रु ७१ अर्ब बढी पुगेको छ । आव २०७१ । ०७२ सम्म सङ्कलित रकम रु ६७ अर्ब २२ करोड ५४ लाख पुगेकामा चालु आवको पुस मसान्तसम्म रु चार अर्ब ५६ करोड ४४ लाख थप बचत सङ्कलन भई हाल कुल रु ७१ अर्ब ७८ करोड ९८ लाख पुगेको छ । कोषले आफ्नो काठमाडौँ केन्द्रित सेवालाई हाल विराटनगर र पोखरामा विस्तार गरेको र आगामी आवमा अन्य स्थानमा विस्तार गर्ने जनाएको छ । देशमा छरिएर रहेको पुँजीलाई बचत परिचालनको माध्यमबाट पुँजीबजारको विकासमा योगदान गर्ने उद्देश्यले विसं २०४७ सालमा कोष स्थापना भएको थियो । कोषले कर्मचारी बचत वृद्धि अवकास कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, पुँजीबजार सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकलगायत सेवा दिँदै आएको छ ।

कोष स्थापनाको २६औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै अर्थ राज्यमन्त्री दामोदर भण्डारीले कोषको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न आग्रह गर्नुभयो । “कोषको पुँजीलाई अधिकतम राष्ट्रिय हित र राष्ट्रिय जीवनमा प्रयोग गरिनुपर्छ, ऊर्जा, पर्यटन तथा विकासका पूर्वाधार निर्माणको क्षेत्रमा कोषले लगानीको योगदान पु¥याउनुपर्छ,”– राज्यमन्त्री भण्डारीले भन्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य कामानन्द देवले पुँजीबजारको विकास र निजी क्षेत्रको लगानीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्न कोष सक्रिय हुनुपर्ने औँल्याउनुभयो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले नागरिक लगानी अभिवृद्धि गरी पुँजीबजार प्रवद्र्धन गर्न कोषले प्रभावकारी काम गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

कोषका अध्यक्ष राजन खनालले विद्यमान कोष ऐनलाई संशोधन गरी नयाँ लगानीका सम्भावना खोज्ने योजना रहेको जानकारी दिनुभयो भने कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सामाजिक सुरक्षणको दायरा फराकिलो बनाउँदै बचत सङ्कलनमा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने कार्य अघि बढाइने बताउँदै जलविद्युत्, कृषि, पर्यटन तथा उत्पादनमूलक पूर्वाधारजस्ता परियोजनामा लगानी गर्ने नीति कोषले अगाडि सारेको उल्लेख गर्नुभयो । सो अवसरमा कोषका पूर्वअध्यक्ष तथा सञ्चालक र उत्कृष्ट काम गर्ने तीन कर्मचारीलाई सम्मान गरिनाका साथै कोषमा २० वर्ष सेवा गरेका छ कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…