भारतीय पक्षको अवरोध हट्यो, जोगवनी नाका सञ्चालन विराटनगर

बिराटनगर /  भारतीय पक्षले मिरगञ्ज पुल हुँदै हुने आयात बुधबारबाट खुला गरेपछि जोगवनी नाका सञ्चालनमा आएको छ ।  ठप्प भएको ५ दिनपछि नाका सुचारु भएसँगै विराटनगर भन्सार कार्यालयको काम कारवाही नियमित बनेको छ । भीषण वर्षासँगै आएको बाढीले मिरगञ्ज पुल कमजोर बनाएको भन्दै भारतीय प्रशासनले गत शनिबारबाट मालबहाक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । भारतीय पक्षको अवरोधका कारण जोगवनीबाट ४ किलोमिटर टाढा रहेको पुल हुँदै मालबहाक सवारी साधन नेपाल भित्रन पाएनन् ।

पुलमा भारतीय अवरोपछि भारत तथा तेस्रो मुलुकबाट विराटनगर भन्सारमा हुने आयात ठप्प हुँदा भन्सार कार्यालयको राजस्व असुली पनि प्रभावित बनेका थियो । विराटनगर भन्सारका अधिकृत एवं सूचना अधिकारी मनिराम पौडेलले बुधबारदेखि भारतीय पक्षले मालबहाक सवारी साधन सञ्चालनको अनुमति दिएको बताए । उनका अनुसार ४० मेट्रिक टनसम्मको भार रहेका मालबहाक सवारी साधन मात्रै सञ्चालनको अनुमति भारतीय प्रशासनले दिएको छ । भारतीयले नाका खुला गरिदिएपछि भन्सारको काम कारवाही समेत नियमित बनेको उनले बताए ।

भारतबाट जोगवनी नाका हुँदै दैनिक तीन सय ५० बढी मालवहाक सवारी साधन नेपाल भित्रिने गरेका छन् । जसबाट दैनिक करिब १५ करोड रुपैयाँ बढी राजस्व संकलन हुने गरेको विराटनगर भन्सारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…