भारतमा भन्दा नेपालमा इन्धन प्रतिलिटर ४० रूपैयाँ सस्तो, नेपालबाट भारत तस्करी हुने डर

काठमाडौं / नेपाल-भारत बिच इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च भएकाे छ । रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ पर्छ भने डिजलको मूल्य १ सय २४ छ । वीरगञ्‍जमा पेट्रोल ९९ रुपैयाँ ५० पैसा र डिजेल ८५ रुपैयाँ ५० पैसामा पाइन्छ । जुलाई ५ को मूल्यसूचीअनुसार सीमावर्ती भारतीय बजारभन्दा नेपालमा इन्धन प्रतिलिटर ४० रूपैयाँसम्म सस्तो रहेको आयल निगमले जनाएको छ ।

मे सम्म पनि सीमाको मूल्यअन्तर ३० रूपैयाँभन्दा उकालो लागेको थिएन । अहिले लकडाउन खुल्दै गएको र मूल्य अन्तर बढ्दै गएका कारण सीमामा इन्धन तस्करी हुने डर बढेको हाे । पेट्रोल र डिजलको मूल्यअन्तर झापासँग सीमा जोडिएको सिलिगुढीमा क्रमशः ३६ र ३७ रुपैयाँ छ । विराटनगरको तुलनामा जोगबनीको मूल्य क्रमशः ४० र ४२ रुपैयाँ बढी छ, जलेश्वरको तुलनामा सीमावर्ती बजारमा ४० र ४१ रुपैयाँ महँगो छ । भैरहवाभन्दा सुनौलीमा ३६ र ३३ रुपैयाँ महँगो छ । पेट्रोल र डिजेलको मूल्य नेपालगन्जभन्दा रुपैडिहामा ३६ र ३३ रुपैयाँ बढी छ र धनगढीभन्दा पलियामा ३६ र ३३ रुपैयाँ बढी पर्छ । लकडाउन खुकुलो हुँदै जाँदा भारतभन्दा नेपालमा तेलको मूल्य सस्तो हुँदा चोरी निकासी हुने, सवारीसाधन आएर इन्धन भरेर जाने जोखिम बढेको बताइएकाे छ ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लाग्ने पूर्वाधार कर प्रतिलिटर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाएको थियो । इन्धनमा संसारमै सर्वाधिक कर भने भारतले लगाउने गरेको छ । भारतले पेट्रोल र डिजलमा प्रतिलिटर भारु ५० सम्म कर लगाउने गरेको छ । नेपालमा पनि ५३ रुपैयाँ कर छ । खुला सिमानाका कारण सीमा वारिपारि मूल्य फरक भएमा व्यापार विचलन हुने भन्दै पूर्वाधार कर बढाइएको सरकारले बताउने गरेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…