भारतबाट आउन थाले पेट्रोलियम ट्यांकर

विराटनगर / मजदुर आन्दोलनका कारण पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनेपछि भारतीय भूमीमै रोकिएका एक सय १९ वटा ट्यांकरलाई आइतबार बिहानसम्ममा नेपाल ल्याई सकिएको छ । नेपाली र भारतीय अधिकारीबीच मजदुरको माग सम्बोधन गर्ने सहमति बनेपछि पेट्रोलियम ढुवानी सूचारु भएको हो । शनिबार राति १० बजेबाट ट्यांकर ल्याउन सुरु गरिएको थियो । भारतीय पक्षले विभिन्न खाले दुःख र तनाव दिएको भन्दै पेट्रोलियम ढुवानीमा जोगवनी नाकाको साटो निर्माणाधिन आईसीपीको बाटो प्रयोग गर्न पाउनु पर्ने माग राखेर मजदुर आन्दोलित बनेका थिए । उनीले भारतको बरौनी डिपोबाट पेट्रोल र डिजेलको लोड अनलोड नै बन्द गरेका थिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव अचार्यले भारतीय पक्षसँगको सहमतिपछि भूमीमै रोकिएर रहेका १ सय १९ वटा ट्यांकर नेपाल ल्याइएको बताए । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकर अन्य मालबहाक सवारी साधन जस्तो लाममा लगाउन नपर्ने, ट्यांकरको जाँचपासलाई चाँडो र सहज बनाउने, मजदुरमाथि दिइने अनेक खालका तनावको अन्त्य गर्ने, जाँचपासका लागि पेट्रोलियम ट्यांकर भारतीय आईसीपीसम्म लैजान नपर्ने र भारतको बथनाहामै पार्किङ गरेर जाँचपासको व्यवस्था मिलाउने सहमति भएको छ । आईसीपी भने निर्माणाधिन अवस्थामै रहेका कारण निर्माण सकिएपछि मात्रै त्यहाँको बाटो प्रयोग गर्न पाउने र अहिले तत्काललाई पुरानै बाटो प्रयोग गर्ने सहमति भएको आचार्यको भनाइ छ ।

खाली ट्यांकर जोगवनी हुँदै भारततर्फ फर्काउँदै गर्दा यही असार १४ गते पेट्रोलियम ट्यांकरका चार जना चालक जोगवनीमा पक्राउ परेका थिए । त्यसको विरोधमा ढुवानी मजदुर विभिन्न माग राखेर आन्दोलित बनेपछि पूर्वमा पेट्रोलियम अनियमित बनेको थियो । चार दिनदेखि ढुवानी ठप्प हुँदा पूर्वमा पेट्रोलियम अभाव सुरु भएको थियो ।

नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले भारतीय पक्षसँग सहमति भएपछि पेट्रोलियम आयात सहज बनेको बताए । उनका अनुसार आयात अनियमित भएसँगै पेट्रोल र डिजेलको स्टक पनि सकिएपछि सबै जसो पम्पमा इन्धन वितरण बन्द गरिएको थियो । प्रमुख यादवका अनुसार नेपाल भित्रिएका मध्ये १ सय ९ ट्यांकर डिजेल र पेट्रोल विभिन्न पम्पहरुमा पु¥याइसकिएको छ । आइतबार साँझदेखि सबै पम्पबाट वितरण सुरु भइसकेको र अभाव हटेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading…