बाढीले मिरगञ्ज पुलमा असर गरेपछि विराटनगर भन्सार ठप्प

विराटनगर / भारतको बिहारस्थित मिरगञ्ज पुलमा बाढीले असर गरेपछि जोगवनी नाका हुँदै मालबहाक सवारी साधन नेपाल भित्रन पाएका छैनन् ।
मालबहाक सवारी साधन आवतजावत ठप्प हुँदा विराटनगर भन्सार ठप्प बनेको छ । निरन्तरको वर्षापछि बाढीले पुलमा क्षति पुग्न सक्ने भन्दै भारती पक्षले पुलमा ठूला सवारी साधन आवतजावतमा रोक लगाएपछि शनिबारदेखि भन्सार नाका ठप्प छ । भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले तीन दिनदेखि कुनै पनि मालबहाक सवारी साधन जोगवनी नाका हुँदै नभित्रिएको बताए । ‘वर्षासँगैको बाढीले प्रभावित बनाएको भन्दै भारतीय पक्षले पुलमा ठूला मालबहाक सवारी साधान सञ्चालनमा रोक लगाएपछि समस्या निम्तिएको छ,’ उनले भने, ‘जसका कारण भारत तथा तेस्रो मुलुकबाट हुने आयात र नेपालबाट हुने निर्यात पूर्ण रुपमा प्रभावित बनेको छ ।’

भारतीय अवरोधका कारण खाली गाडी समेत पठाउन नपाइएको पौडेलले बताए । नेपाल र भारत सरकारको प्राथमिकतामा सो पुल नपर्दा उद्योगी व्यवसायीहरुले दैनिक कष्ठ भोग्नु परिरहेको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । पटक–पटक सम्बन्धित निकायलाई पुलको विकल्पबारे ध्यानाकर्षण गराउँदासमेत ती निकायले वास्ता गरेनन्,’ उनले भने, ‘अहिले आएर औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधन भारतीय भूमिमै रोकिनु परेको छ ।’ राउतले पुलमा क्षति पुगेर पूर्व क्षेत्रका धेरै उद्योग संकटग्रस्त बन्ने र बन्द हुने बताए । ‘नेपाल सरकारले तत्काल समस्याको दीगो समाधानका लागि पहल गर्नु पर्ने देखिन्छ,’ उनले भने, ‘यस विषयमा नेपाल र भारत दुवै सरकार गम्भीर भएको पाइँदैन ।’
यदि मिलगञ्ज पुल विग्रिए विकल्पका रुपमा सुनसरीको भण्टाबारी नाका प्रयोग गर्ने पर्ने अवस्था आउने उद्योगी व्यवसायीले बताए । भण्टाबारीबाट आयात गर्दा निक्कै ठूलो समस्या बेहोर्नु पर्ने र ढुवानी भाडा पनि महँगो पर्ने राउतले बताए । ‘दुई वर्ष अघि पनि मिरगञ्ज पुलमा समस्या हुँदा भण्टाबारी नाका प्रयोग गरियो,’ उनले भने, ‘त्यो नाकाबाट समय र ढुवानी खर्च बढी लाग्छ ।’ त्यसले उत्पादन लागत समेत बढ्ने र त्यसले उपभोक्तालाई असर पु¥याउने तथा उद्योगलाई धाराशायी बनाउने राउतको भनाइ छ ।

२०७४ सालको भीषण बाढीले क्षति पुगेको सो पुलबाट पछिल्लो समय ४० मेट्रिक टन सम्मका सवारी साधन मात्रै भित्रन दिने गरिएको थियो । त्यसभन्दा बढी तौलसहित मालसमानको सवारीसाधन सुनसरीको भण्टावारी हुँदै भित्रने गरेका थिए । हाल मिरगञ्ज पुल कटिसकेका र भारतीय एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा भएका मालबहाक सवारी साधन मात्रै नेपाल आइरहेको भन्सारले जनाएको छ । वर्षा कम भएर पानीको बहाव कम भएपछि मालबहाक सवारी साधन सहज रुपमा आउने अपेक्षा गरिएको भन्सारका अधिकृत समेत रहेका पौडेलले बताए । भारतबाट जोगवनी नाका हुँदै दैनिक ३ सय बढी मालवहाक सवारी साधन नेपाल भित्रिने गरेका छन् । जसबाट दैनिक करिब १५ करोड राजस्व संकलन हुने गरेको भन्सारले जनाएको छ । मालबहाक सवारी साधन नभित्रदा भन्सारको राजस्व संकलन समेत प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया

Loading…