प्रतिव्यक्ति ऋण रु सात हजारले वृद्धि

काठमाडौँ / नेपालीको प्रतिव्यक्ति ऋण गत वर्षभन्दा रु सात हजार ४३ ले बढ्न गएको छ । सार्वजनिक महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदनानुसार कूल जनसङ्ख्या दुई करोड ८८ लाख २९ हजारलाई आधार मान्दा यस वर्ष प्रतिव्यक्ति ऋण दायित्व रु ३१ हजार ७५० छ । त्यस आधारमा प्रक्तिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा रु सात हजारले बढेको हो । सरकारको कूल ऋण दायित्व रु नौ खर्ब १५ अर्ब ३१ करोड छ ।

अद्यावधिक बेरुजु रु पौने चार खर्ब

महालेखापरीक्षकको प्रतिवेदनानुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह जिल्ला समन्वय समिति, अन्य समिति र संस्थाको अद्यावधिक बेरुजु रु सात खर्ब ७७ अर्ब ४८ करोड छ । गत वर्षभन्दा बेरुजु २९.९३ प्रतिशतले बढेको छ ।

गत वर्ष यस्तो रकम रु पाँच खर्ब आठ करोड रहेको थियो । गत वर्षको तुलनामा कारवाही गरी टुङ्गो लगाउनुपर्ने रकम ३६.७१ प्रतिशतले बढेको छ । स्थानीय तहले रु एक अर्ब ६७ करोड ५० लाख नौ हजारको लेखापरीक्षण नै गराएका छैनन् । धनुषा, सर्लाही, बझाङ र महोत्तरीका छ स्थानीय तहले लेखापरीक्षण नगराएका हुन् ।

महालेखापरीक्षक टङ्कमणि शर्माका अनुसार सङ्घीय कार्यालयको रु ४६ अर्ब ४८ करोड आठ लाखमध्ये खानेपानी, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको परीक्षण भएको बेरुजु रु १५ अर्ब ९२ करोड ८७ लाख छ ।

व्यापार घाटा वृद्धि

प्रतिवेदनानुसार आव २०७४÷७५ मा रु ११ खर्ब ६३ अर्ब ८६ करोड बराबरको व्यापार घाटा भएको छ । आव २०७२÷७३ मा रु सात खर्ब १० अर्ब एक करोड घाटा थियो । गत दुई आर्थिक वर्षको व्यापार घाटा वृद्धि प्रतिशत ६३.९२ छ । उच्च आयात र न्यून निर्यातका कारण व्यापार घाटा बढ्दै जाँदा भुक्तानी सन्तुलनमा समेत प्रभाव परेको छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…