पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

झापा । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । यही कारण मेची अञ्चलका सबै पेट्र«ोलपम्पहरु बन्द भएका छन् ।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङ सहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उहाँले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको बताए । सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकिराखेको छ ।

तपाईको प्रतिक्रिया

Loading…