नेपाली हाते कागज उद्योग सङ्कटमा

सोलुखुम्बु / जिल्लाको विभिन्न स्थानमा सञ्चालित नेपाली हाते कागज उद्योग क्रमैसँग बन्द हुन थालेका छन् ।  नेपाली कागजको महत्व भए पनि विभिन्न कारणले उद्योग सङ्कटमा पर्न थालेको उद्योगीहरू बताउँछन् । दश पन्ध्रवर्ष अघिदेखि सञ्चालनह हुँदै आएका उद्योग अहिले अलपत्र भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको तथ्याङ्कअनुसार जिल्लामा दर्ता भएका २० यस्ता उद्योगमध्ये अहिले चार वटामात्र जसोतसो सञ्चालनमा छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–१ जुभिङमा रहेको दूधकोशी कागज उद्योग अहिले बन्द छ । उद्योग सञ्चालक प्रेम थापामगरका अनुसार गाउँघरमा जनशक्ति अभावका कारण उद्योग बन्द भएको हो ।  नेपाली हाते कागज उद्योग सञ्चालन गरी रोजगारीसँगै आम्दानीसमेत लिने सोचमा रहेका उद्योगीले अहिले न रोजगारी नै दिन सकेका छन् न त मनग्य आम्दानी नै लिन पाएका छन् ।

महाकुलुङ गाउँपालिकाको सरस्वती नेपाली कागज उद्योग अहिले आठ कामदारको सहयोगमा जसोतसो सञ्चालनमा छ । “सरकारी नीति, नियम झन्झटिलो भएकाले पनि उद्योग सङ्कटमा परेको हो ।” उद्योग सञ्चालक उत्तरकुमार राई भन्नुहुन्छ, “सरकारले गाउँघरमा सञ्चालन हुने उद्योगका लागि सरल नीति लिनाका साथै प्रोत्साहनको व्यवस्था गर्न आवश्यक छ ।”

राम्रोसँग नेपाली कागज उद्योग सञ्चालन भए आम्दानीसमेत राम्रै हुने उहाँकोे भनाइ छ । माप्य दूधकोशी गाउँपालिकामा रहेको एमडी पेपर उद्योग प्रालि अहिले राम्रोसँग सञ्चालन गर्न नसकिएको उद्योग सञ्चालक मङ्गलसिं तामाङको भनाइ छ । जङ्लगमा गएर लोक्ता सङ्कलन गरी ल्याउने जनशक्ति अभावकै कारण उद्योग सञ्चालनमा समस्या भएको उहाँ बताउनुहुन्छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा मनग्य अर्गेली उत्पादन हुन्छ । सामुदायिक वन तथा निजी वनमा अर्गेली उत्पादन भए पनि त्यसको सदुपयोगमा अनेकौ चुनौती देखिएको स्थानीयवासी बताउँछन् । अर्गेलीको लोक्ताबाट नेपाली कागजमात्र नभई दाम्लो, नाम्लोलगायत सामग्री निर्माण गर्न सकिने भए पनि पर्याप्त जनशक्ति अभाव, राज्यको अस्पष्ट नीति, कम लगानी र युवाशक्तिको कम चासोजस्ता कारण उद्योग बन्द हुन पुगेको अर्का उद्योग सञ्चालक प्रेमबहादुर थापामगर उल्लेख गर्नुहुन्छ ।

प्राकृतिक रुपमा पाइने अर्गेलीको सही सदुपयोग गरी उद्योग सञ्चालन गर्नसकेमा आर्थिक विकासमा टेवा पुग्नेमा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उमेश वाग्ले जोड दिनुहुन्छ ।

नेपाली कागजको बजार

जिल्लामा उत्पादित नेपाली कागज विदेशमा समेत निर्यात हुने गरेको छ । जिल्लाबाट काठमाडौँ हुँदै विदेश निर्यात गर्नुहुने व्यावसायी तथा प्रशिक्षक दावा तामाङको भनाइ छ ।

उहाँका अनुसार कोरको हिसाबले कागज बिक्री गरिन्छ । एक कोरमा २०० पाता र ‘एफो साइज’को चार पाना हुन्छ । कागजको गुणस्तरअनुसार यहाँ रु तीन हजारदेखि रु तीन हजार ५०० सम्ममा विक्री हुन्छ । “एक कोर कागज उत्पादन गर्न चार धार्नी अर्गेली आवश्यक पर्छ ।” सञ्चालक तामाङ भन्नुहुन्छ, “जङ्गलमा एक जनाले चार धार्नीसम्म अर्गेली जम्मा गर्नसक्छ, त्यसलाई बेलुका प्रशोधन गरी भोलिपल्ट कागज बनाउन सकिन्छ ।” एक कोर कागज बनाएबापत रु ५०० ज्याला पाउने कामदारले एक कोरभन्दा बढी कागज बनाउन सक्छ ।

“सञ्चालकले एक कामदार प्रयोग गरेबापत सम्पूर्ण खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी आम्दानी गर्न सक्छ ।” सरस्वती नेपाली कागज उद्योग सञ्चालक उत्तरकुमार राई भन्नुहुन्छ, “जति धेरै कामदार प्रयोग गर्न सकियो उतिबढी आम्दानी हुन्छ ।”

कसरी बन्छ नेपाली कागज

अदालती तथा अन्य कामकाजमा नेपाली कागजको प्रयोग अनिवार्य छ । कुनै तमसुक, मञ्जुरिनामा, लेनदेन, राजीनामालगायतमा प्रयोग हुने नेपाली कागज हो । पहाडी क्षेत्रमा उक्त कागज निर्माणका लागि लोक्ताको प्रयोग गरिन्छ । अर्गेलीबाटै लोक्ता उत्पादन गरिन्छ भने सोही लोक्ता प्रशोधन गरी नेपाली कागज निर्माण गरिन्छ ।

नेपाली कागज बनाउनका लागि कच्चा पदार्थको रुपमा अर्गेली र सिग्रे लोक्ता प्रयोग गरिन्छ । जङ्गलमा पाइने अर्गेली र सिग्रे लोक्ताको बोट सङ्कलन गरी घरमा ल्याएर त्यसको बोक्रा निकाल्ने, कुट्ने र उसिन्ने, काम सकिएपछि भिटार नामको उपकरणमा राखिन्छ । त्यहाँबाट घोल निकालेर फ्रेममा फिटेर सुकाइन्छ ।

सोह्र वर्षको उमेरदेखि यही पेशामा रमाउनुभएका ५७ वर्षीय दावाका अनुसार प्रशिक्षण, उपकरणलगायतमा राज्यले कुनै पनि सहयोग गरेको छैन । जति राम्रो प्रविधि प्रयोग गरेर बनायो त्यति नै गुणस्तरीय हुने उहाँको भनाइ छ । अर्गेलीको खेती गर्न सकिने भए पनि यसतर्फ कसैले पनि ध्यान दिएका छैनन् । जङ्गलमा जति पायो त्यसमै निर्भर बन्दा पनि कच्चा पदार्थको अभाव हँुदै गएको दावा बताउनुहुन्छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सगर किराँती यस्ता उद्योग सञ्चालनका लागि विशेष कार्ययोजना बनाइरहेको छ भन्नुहुन्छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…