द्वन्द्वमा हटेको बैंक पुनः स्थापना

बागलुङ । सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेडको गलकोट शाखा पुनः स्थापना भएको छ । पन्ध्र वर्षदेखि बन्द शाखाले आइतबारदेखि सेवा सञ्चालन गरेको हो । जिल्लाको हरिचौरस्थित बैंकको पुरानो भवन जीर्ण भएकाले तत्कालका लागि भाडाको घरबाट काम थालेको बैंकले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा सुरु गरेको शाखा प्रबन्धक लक्ष्मण रखालले जानकारी दिनुभयो ।

सेवा शुभारम्भकै दिन ३१ जनाको खाता खोलिएको र रु १० लाख सात हजारको कारोबार भएको जनाइएको छ । शाखामा प्रबन्धकसहित तीनजना कर्मचारी छन् । शाखाले थप सेवा विस्तार गर्दै जाने शाखा प्रमुख रखालले बताउनुभयो । “थप सेवा विस्तार गर्दै जान्छौँ, सेवाग्राहीको विश्वास जित्ने गरी हामी काम गर्नेछौँ”, उहाँको भनाइ थियो ।

विस्थापित बैंक पुनः खुलेपछि विकास योजनाको रकम, कर्मचारीको तलबभत्ता, निवृत्तिभरण लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकाले स्थानीवासी उत्साहित बनेका छन् । सो शाखा खुलेपछि गलकोटमा आर्थिक गतिविधि पनि बढ्ने स्थानीयवासी ललित श्रीशले बताउनुभयो । “सेवा दिइरहेको बैंक लामो समय बन्द रहँदा हामी समस्यामा थियौँ” श्रीशले भन्नुभयो, “अब घरदैलोमै बैंकिङ सेवा आएको छ, यसले समग्र गलकोटवासीलाई हर्षित बनाएको छ ।”

वि.सं.२०३३मा स्थापना भएको सो शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो । उक्त भवन जीर्ण भएर बस्न नमिल्ने भएपछि पुनः निर्माण गरिने भएको छ । तत्कालीन समयमा स्थानीयवासीले बैंकको शाखा राख्न एक रोपनी जमिन निःशुल्क रुपमा उक्त जग्गा उपलब्ध गराएका थिए ।

शाखा पुनः स्थापनाका लागि स्थानीयवासीले पटक–पटक दबाब दिँदै आएका थिए । नेपाल बैंक लिमिटेडले यसै साता गलकोटसहित तनहुँको खैरेनीटार शाखा र स्याङ्जाको सुन्तलेटार शाखा पनि पुनः स्थापना गरेको जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

Loading…