तामाकोशीले दियो ११ परिवार सुकुम्वासीलाई लालपूर्जा

दोलखा / तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । गाउँपालिकाभित्र तीन पुस्तादेखि बसोबास गर्दै आएका ११ भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले लालपूर्जा वितरण गरेको हो । गाउँपालिकालाई सुकुम्वासीविहीन गाउँपालिका बनाउने उद्देश्यअनुसार तीन पुस्तादेखि अरुकामा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले रु एक लाख ५० हजारका दरले जग्गा खरीद गरी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले लालपूर्जा हस्तान्तरण गर्नुभएको छ ।

लालपूर्जा प्राप्त गर्नेमा गाउँपालिका वडा नं १ का शान्त तामाङ, सन्देश तामाङ, मङ्गलसिंह तामाङ, मिङ्मार लामा, वडा नं २ का भीमबहादुर भुजेल, वडा नं ३ का जीतबहादुर खत्री, विन्दा सार्की, दिपेश बस्येल, राजु खत्री, मीनबहादुर सार्की र वडा नं ४ का ज्ञानु श्रेष्ठ रहेका छन् । गाउँपालिकाले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्न वडा नं ३ का अध्यक्ष रामप्रसाद काफ्लेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्दा १९ सुकुम्वासी रहेको पहिचान गरेको थियो ।

संयोजक काफ्लेले गाउँपालिकाले यो वर्ष सबै सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने योजना भए पनि कतिपय सुकुम्वासी सम्पर्कमा नआएकाले ११ सुकुम्वासीलाई मात्र वितरण गरेको र अन्यलाई पनि पुनः वितरण गर्ने बताउनुभयो । गाउँपालिकाले ११ सुकुम्वासीलाई विभिन्न ठाउँमा ठाउँअनुसार रु एक लाख ५० हजारका दरले एक÷एक रोपनीभन्दा बढी जग्गा भएको जग्गाधनी पूर्जा वितरण गरेको प्रमुख पोखरेलले बताउनुभयो । अध्यक्ष पोखरेलले भूकम्पपछि आफ्नो जग्गा नभएका कारण पुनःनिर्माण गर्न नसकेका ती सुकुम्वासीलाई अब पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गरेर स्थायी आवास निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…