जोगवनी–किमाथाङ्का सडक निर्माण कार्य सेनालाई दिने तयारी

संखुवासभा / (कोशी राजमार्ग) जोगवनी—किमाथाङ्का सडकखण्डको भिर फुटाउने जिम्मा नेपाली सेनालाई दिने तयारी भएको छ । दुई ठूला छिमेकी मुलुक भारत र चीन जोड्ने त्रिदेशीय लिंक रोडको रुपमा निर्माणाधिन जोगवनी—किमाथाङ्का सडकखण्डको भिर फुटाउने जिम्मा नेपाली सेना दिने अन्तिम तयारी भएको उत्तर–दक्षिण (कोशी सडक) आयोजनाले जनाएको छ ।

चीन र भारत जोड्ने सबैभन्दा छोटो यो सडकको निर्माण कार्यले गति लिन नसकेपछि ठूला चट्टान रहेको भिर फुटाउने जिम्मा नेपाली सेनालाई दिने तयारी भएको हो । त्यस क्षेत्रमा ठूला–ठूला चट्टान भएकाले नेपाली सेनालाई जिम्मा दिने प्रक्रिया अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

अब किमाथाङ्का नाका जोडिन २३ किलोमिटर मात्रै बाँकी रहेको छ । त्यही २३ किमी भित्र नै ठूला चट्टान १५ किमी क्षेत्र भेटिएकाले सो क्षेत्र चाँही नेपाली सेनालाई दिने तयारीमा रहेको छ । आयोजना प्रमुख पशुपति ज्ञवालीका अनुसार ‘शंखे र महभिरमा कडा चट्टान भएका कारण ट्रयाक खोल्न नै समस्या भएकाले विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने आवश्यकता देखिएकाले सेनालाई दिन लागिएको हो ।’

‘विस्फोटक पदार्थ खरिद गरेर बंकर निर्माण गरी भण्डारण गर्ने र भिरको चट्टान फुटाउने प्रक्रियाको लागि नेपाली सेनासँग कुरा भएको र सो प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ संघीय सांसद राजेन्द्र गौतमले बताए । यसै आर्थिक वर्ष्भित्र खाँदबारी–किमाथाङ्कामा गाडी गुडाउने योजना लिएर अघि बढाई, बजेटको व्यवस्था गरेर सडक जोड्ने योजना रहेको सांसद गौतमको भनाई छ ।

सडक निर्माणको क्रममा यसअघि केही समस्याहरु देखापरे पनि अहिले समाधान भइसकेको आयोजना प्रमुख ज्ञवालीले बताए । उनका अनुसार, चेपुवा, छुमसुर, घोङगोप्पा सडकखण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक परेको हो । सिम्बुङ–हटिया खण्डको ट्रयाक खोल्ने, बरुण–सिम्बुङको रेखाङ्कन विवाद, अलैंची तथा गुम्बा क्षेत्रमा देखिएको समस्या समाधान गरेर सडक निर्माणको काम अघि बढिसकेको ज्ञवालीले बताए ।

सिन्धुपाल्चोकबाट चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै डोजर र इन्धन ल्याएर किमाथाङ्काबाट १४ किलोमिटर ट्रयाक खोले पनि डेढ वर्ष अघिबाट निर्माण कार्य ठप्प भएको छ । कान्छाराम एपेक्सले विभिन्न कारण देखाएर काम रोकेकाले सडक निर्माण कार्य अगाडि बढ्न नसकेको आयोजनाले जनाएको छ । यता चेपुवा—हटिया–हुङहुङ हुदै सडक ट्रयाक खोल्नका लागि हेलिकप्टरबाट डोजर लगेर काम भइरहेको छ । चालु आर्थिक वर्षका लागि केन्द्रीय सरकारबाट ४७ करोड रुपैयाँ बजेट आएको आयोजना प्रमुख ज्ञवालीले जानकारी दिए ।

जोगवनी–मोरङ्गको रानी हुदै जोगवनी देखी संखुवासभाको किमाथाङ्का नाका जोड्न कुल ३ सय ९० किलोमिटर रहेको छ । खाँदबारी–किमाथाङकाको दुरी १ सय ६२ कि.मी. रहेको छ । त्यसमध्ये १ सय ४४ कि.मी. सडकको ट्रयाक ओपन भईसकेको छ ।२०६५ सालमा खाँदबारीमा स्थापना भएको उत्तरदक्षिण (कोशी) सडक आयोजनाले खाँदबारी देखी किमाथाङ्का नाका सम्मको सडकको मात्रै काम गर्ने गर्दछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…