जनता आवास रकमको लागि छ महिनादेखि धाउँदा पनि पाएनन्

राजविराज । लगातार छ महिनादेखि जनता आवास निर्माण वापत किस्ता रकमको लागि कार्यालय धाउँदै आएपनि अझै नपाएको कारण निर्माण कार्य प्रभावित भएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ गढिया धुरगामका दलितहरुले पाएको दुई किस्ता रकमबाट सकेजति निर्माण गरिएको छ । थप निर्माण अगाडी बढाउन तेश्रो किस्ताको रकम माग गर्दै छ महिनादेखि कार्यालय धाउँदा पनि निकासा नपाएको लक्ष्मी रामले बताउनुभयो । दोश्रो किस्ताको रकमबाट लिलटन सम्म घर निर्माण गरिसकेको उहाँले भन्नुभयो, छाना, भ्याल ढोका राख्न मात्र बाँकी छ । तेश्रो किस्ता निकासा भएको भए उहिले नै सम्पन्न भइसक्थ्यो ।

लक्ष्मीसँगै तेश्रो किस्ता रकम निकासाका लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरी अन्तर्गत जनता आवास कार्यक्रम कार्यान्वयन इकाई कार्यालय आएका शनिचरीदेवी साफी, रितादेवी रजक, सोमनी मरिकसहित करिब १० जनाको कथा र व्यथा उस्तै थियो । किस्ता रकमले नपुग हुँदा ऋण कर्जा गरेर घर बनाउन थाले उहाँले भन्नुभयो, यति गर्दापनि घर पूरा भएन, उता तेश्रो किस्ता निकासा भएन । आफुहरुसँग जग्गा जमिन केहि छैन । थप ऋण दिदै दिदैनन् । साहुहरु भन्छन, पहिलाको ऋण चुक्ता गर, अनि मात्र दिन्छु ।

गत वर्षदेखि नै जग्गामा ठडिएको फुस घर तोडेर जनता आवास अन्तर्गतको घर निर्माण सुरु गरेको तर किस्ता रकम समयमा निकासा नहुँदा निर्माण कार्य पूरा नभएको उनीहरु बताउँछन । निर्माणका लागि घर भत्काएर केहीले छरछिमेकमा आश्रय लिएको तथा केहीले सानो छाप्रोमा जसोतसो दिन बिताउँदै आएको उनीहरुले भन्नुभयो, गत वर्षको वर्षामा निकै कष्ट भएको थियो । अब डेढ महिनापछि फेरी वर्षा सुरु हुन्छ, अहिले चिन्ताले सताइरहेको छ ।

सो स्थानमा ३० दलित घरपरिवारको स्वीकृतमध्ये आठ वटामा जग्गा स्वामित्व विवाद, र चार वटा थप गरी १२ वटामा अझै निर्माण काम सुरु नभएको भन्दै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीका सूचना अधिकारी महेशकुमार यादवले त्यहाँ जम्मा १८ वटा आवास निर्माण भइरहेको जानकारी दिनुभयो । प्रति आवास दुई लाख पाँच हजार पाउनेबाट पहिलो किस्ता वापत ५१ हजार ३०९, दोश्रो किस्ता वापत ६१ हजार ५७१ उनीहरुको खातामा निकासा गरिसकेको भन्दै उहाँले तेश्रो किस्ता वापत पाउने रकम बमोजिम मापदण्ड पूरा नगरेको कारण निकासा नभएको बताउनुभयो । तेश्रो किस्ताका लागि लिलटेनसम्मको काम सम्पन्न भई झ्याल चोकस जडान गरिएको हुनु पर्नेमा सो नभएको बताइएको छ ।

तोकिएको मापदण्ड अनुसार निर्माण सम्पन्न भएपछि तेश्रो किस्ता वापत ७१ हजार ८३३ र चौथो तथा अन्तिम किस्ता वापत २० हजार ५२३ रुपियाँ पाउने उहाँले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७३÷०७४ मा छ हजार ५८१ जनाको आवेदनमध्ये एक हजार आवास निर्माणको स्वीकृत पाइएकोमा जग्गा स्वामित्व विवादका कारण ९२० वटा आवास निर्माण भइरहेको सूचना अधिकारी यादवले जानकारी दिदै निर्माणको जग, डिपीसी, गारो, लिलटेनसम्म कार्य भएको बताउनुभयो । प्रति आवास ३३० वर्ग्फिट क्षेत्रफलमा दुई कोठा पक्की घर, बरण्डाको बायाँमा भान्सा घर निर्माण गर्न १० प्रतिशत घरधनीको श्रम वा सामग्री वा नगद लगानी गर्नुपर्ने अनिवार्यता रहेको उहाँले बताउनुभयो ।

आव ०६६÷०६७ देखि ०६७÷०६८ सम्ममा एक हजार ३४७ वटा आवास पूर्ण रुपमा निर्माण भएको छ भने त्यसपछिको ०७२÷०७३ आवसम्मका ४१० आवास निर्माणको अन्तिम चरण रहेको बताइएको छ । आव ०६९÷७० देखि ०७२÷०७३ सम्ममा ४१० र ०७३÷०७४ मा एक हजार गरी कूल एक हजार ४१० आवास निर्माण पूर्ण रुपमा सम्पन्न नभएको कार्यालयको अभिलेखमा उल्लेख छ ।

फोटो क्यपसन ः जनता आवास किस्ता रकमका लागि कार्यालय धाउँदै आएका दलित परिवारहरु ।

तपाईको प्रतिक्रिया

Loading…