चैते धानमा घाँटी मोरुवा रोगको समस्या

चितवन / पूर्वी चितवनमा लगाइएको चैते धानमा घाँटी मरुवा (नेक ब्लास्ट) रोग देखापर्न थालेको छ । जसका कारण राप्ती र खैरहनी नगरपालिकाका कृषक प्रभावित भएका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार ढुसीका कारण यो रोग देखा परेको हो । हर्दिनाथ एक नामको धानमा यो समस्या देखिएको छ ।

धानमा बाला पसाउने समयमा बालामुनिको घाँटीमा जीवाणुले आक्रमण गर्ने गरेको छ जसका कारण खैरो र कालो दाग देखिने गर्दछ । मुख्यरुपमा बालामा दूध पसाउने समयमा यो रोग लाग्ने गर्दछ । रोगले बाला सुकाएर भुसमात्र हुने गर्दछ । श्रेष्ठले गत साल पनि यो समस्या देखिएको बताउनुभयो । दुई दिनअघि राप्ती नगरपालिका–६ मा गएर हेर्दा त्यस क्षेत्रमा लगाइएको धानको ४० प्रतिशत हाराहारीमा नोक्सान भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस क्षेत्रमा ३०० बिघा धानमा नोक्सान भएको छ ।

कृषकलाई आउँदो वर्षबाट यो धान नलगाउन र विकल्पका रुपमा हर्दिनाथ ३, चैते २, चैते ५ सिफारिस गरिएको उहाँले बताउनुभयो । सन्तुलित मलखादको प्रयोग गर्न र बालामा दूध पसाउने समयमा विषादी प्रयोग गर्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो । यसैगरी चैते धानको बीमा गर्न उहाँको सुझाव छ । चैते धानको उत्पादनको मूल्यका आधारमा बीमा गर्ने गरिन्छ । बर्खे धानमा भने लागतका आधारमा बीमा गरिन्छ । जिल्लामा पाँच हजार हेक्टर लगाइन्छ । एक हेक्टरमा चार दशमलव पाँच मेट्रिक टन उत्पादन हुँदै आएको छ । सो क्षेत्र चैते धानको पकेट क्षेत्र मानिन्छ ।

तपाईको प्रतिक्रिया

Loading…